अन्तर्राष्ट्रिय धादिङ समाजको चौथो अधिवेशन असोज ३१ गते हुने

Avatar photo
Dhadingpost
भदौ २९, २०८३

धादिङ । अन्तर्राष्ट्रिय धादिङ समाजको चौथो अधिवेशन आगामी असोज ३१ गते अर्थात् अक्टोबर १७ मा हुने भएको छ । समाजको कार्यसमितिको भर्चुअल बैठकले चौथो अधिवेशन असोज ३१ गते गर्ने निर्णय गरेको अध्यक्ष राजन खकुरालले जानकारी दिए ।

विश्वका २० राष्ट्रमा शाखा विस्तार गरेको अन्तर्राष्ट्रिय धादिङ समाजको चौथो अधिवेशनले पाँचौँ कार्यकालका लागि नयाँ कार्यसमिति चयन गर्नेछ । अधिवेशनले समाजको आगामी नेतृत्वसहित विभिन्न पदाधिकारी तथा सदस्य चयन गर्नेछ ।

अन्तर्राष्ट्रिय धादिङ समाज गठनको सुरुवात भने २०७४ सालबाट भएको हो । २०७४ असोज १६ गते धादिङबेँसीमा भुवन गुरुङको संयोजकत्वमा सम्पन्न पहिलो भेलाले अन्तर्राष्ट्रिय धादिङ समाजको तदर्थ समिति गठन गर्ने निर्णय गरेको थियो । सोही निर्णयअनुसार २०७४ असोज ३१ गते अर्थात् अक्टोबर १७ मा काग तिहारका दिन धादिङबेँसीमा सम्पन्न भेलाले नानुकाजी अर्यालको अध्यक्षतामा तदर्थ समिति गठन गरेको थियो ।

त्यसपछि अन्तर्राष्ट्रिय धादिङ समाजको विश्व भेला तथा प्रथम अधिवेशन २०७६ असोज २७ गते काठमाडौंमा सम्पन्न भएको थियो । उक्त अधिवेशनबाट नानुकाजी श्रेष्ठ पुनः अध्यक्षमा चयन भएका थिए ।

समाजको दोस्रो अधिवेशन २०७८ असोज २४ गते सम्पन्न भएको थियो । दोस्रो अधिवेशनबाट राजन खकुराल अध्यक्षमा चयन भएका थिए । त्यसपछि २०८१ असोज २३ गते सम्पन्न तेस्रो अधिवेशनले खकुराललाई पुनः अध्यक्षको जिम्मेवारी दिएको थियो ।

अब चौथो अधिवेशनमार्फत समाजले पाँचौँ कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्ने तयारी गरेको छ । विभिन्न देशमा रहेका धादिङेलीलाई संगठित गर्दै सामाजिक सेवा, विपद् सहयोग तथा जिल्लासँग सम्बन्धित विभिन्न गतिविधिमा सक्रिय रहँदै आएको समाजको नयाँ नेतृत्व चयनलाई चासोका साथ हेरिएको छ ।