
काठमाडौं । निःसन्तान दम्पतीलाई सन्तान प्राप्त गराइदिने नाममा १६ वर्षीया नाबालिगको डिम्ब (अण्डाणु) अवैध रूपमा कारोबार गर्न खोजिएको घटनामा बिचौलियासँगै वरिष्ठ प्रसूति तथा स्त्रीरोग विशेषज्ञ एवं आइभिएफ (टेस्ट–ट्युब बेबी) विशेषज्ञ डा. नूतन शर्माको भूमिका पनि अनुसन्धानको दायरामा आएको छ ।
प्रहरीका अनुसार आर्थिक अवस्था कमजोर रहेकी नाबालिगलाई मोबाइल किनिदिने प्रलोभन देखाएर बिचौलिया राधिका गौतमले बिएन्डबी अस्पतालस्थित आइभिएफ सेन्टरमा पुर्याएकी थिइन् । अनुसन्धानबाट डा. शर्माकै सिफारिसमा उनलाई सेन्टरमा लगिएको खुलेको प्रहरीले जनाएको छ ।
सेन्टरमा नाबालिगलाई डिम्ब उत्पादन बढाउन हर्मोनको इन्जेक्सन लगाइएपछि सात दिनपछि पुनः आउन भनिएको थियो । तर, घर फर्किएपछि इन्जेक्सनको प्रतिकूल असर देखिँदै स्वास्थ्य अवस्था बिग्रिन थालेको बताइएको छ ।
केही घण्टा ढिलो गरी सेन्टर पुगेकी नाबालिगलाई ढिलो आएको भन्दै चिकित्सकले हप्काएर फर्काइदिएको आरोप छ । त्यसपछि स्वास्थ्य अवस्था झन् बिग्रिएपछि परिवारले सोधपुछ गर्दा मात्रै आफूलाई डिम्ब दानका लागि लगिएको विषय उनले अभिभावकलाई सुनाएकी थिइन् ।
त्यसपछि अभिभावकले बिचौलिया गौतमलाई सम्पर्क गरी घटनाबारे जानकारी गराएका थिए । गौतमले नाबालिगलाई पुनः आइभिएफ सेन्टर लगे पनि डा. शर्मा त्यहाँ नभेटिएको र फोनमार्फत जानकारी गराउँदा पनि आवश्यक चासो नदिएको आरोप अनुसन्धानमा उल्लेख छ ।
स्वास्थ्य अवस्था थप जटिल भएपछि गौतमले अर्को आइभिएफ सेन्टरमा लगेर डिम्ब उत्पादन रोक्ने इन्जेक्सन लगाइदिएकी थिइन् । त्यसपछि मात्रै नाबालिगको स्वास्थ्यमा सुधार आएको प्रहरीको भनाइ छ । स्वास्थ्य सामान्य भएपछि पीडित पक्षले ललितपुर प्रहरी परिसरमा जाहेरी दिएको थियो ।
अनुसन्धानका क्रममा बिचौलिया गौतमले नाबालिगलाई मोबाइल किनिदिने प्रलोभन देखाएर डा. शर्माकहाँ पुर्याएको र त्यसबापत डा. शर्माबाट गौतमले ६० हजार रुपैयाँ मोबाइल बैंकिङमार्फत प्राप्त गरेको प्रमाण फेला परेको प्रहरीले जनाएको छ। रकम स्थानान्तरण भएको बैंकिङ रेकर्ड तथा स्क्रिनसट समेत सुरक्षित गरिएको प्रहरी स्रोतको दाबी छ ।
प्रहरीले घटनामा संलग्न बिचौलियामाथि अनुसन्धान अघि बढाएको तथा डा. नूतन शर्माविरुद्ध पनि पक्राउ पुर्जी जारी गर्ने प्रक्रिया अघि बढाइएको जनाएको छ । स्रोत : राष्ट्रिय दैनिक नयाँ पत्रिका ।
