
नेपाल प्राकृतिक जलस्रोतका हिसाबले विश्वकै धनी देशमध्ये एक हो । तर हाम्रो सोच अझै पनि धेरैजसो एउटा आयोजना, एउटा बाँध र एउटा विद्युतगृहमै सीमित छ । अब समय आएको छ- एउटा आयोजनाभन्दा माथि उठेर सम्पूर्ण नदी प्रणालीको विकास गर्ने ।
सरकारले बुढीगण्डकी १,२०० मेगावाट जलाशययुक्त आयोजना अघि बढाएको छ । यो आयोजना अत्यन्त आवश्यक छ र यसलाई सफलतापूर्वक सम्पन्न गर्नुपर्छ । तर मेरो विचारमा यही आयोजना अन्तिम लक्ष्य हुनु हुँदैन; यही आयोजना नेपालको अर्को ऊर्जा क्रान्तिको सुरुवात बन्नुपर्छ ।
सिक्किमको अनुभवले दिएको पाठ
मैले भारतको सिक्किममा करिब पाँच वर्ष जलविद्युत क्षेत्रमा काम गर्ने अवसर पाएँ । रङ्गित नदी प्रणालीअन्तर्गत DANS Energy को ९६ मेगावाट Jorethang Loop Hydroelectric Project र Shiga Energy को ९७ मेगावाट Tashiding Hydroelectric Project मा काम गर्दा मैले एउटा महत्वपूर्ण कुरा सिकेँ—नदीलाई होइन, सम्पूर्ण नदी प्रणालीलाई विकास गर्नुपर्छ ।
सिक्किमको टिस्टा र रङ्गित नदी प्रणालीमा एउटै पानीलाई विभिन्न चरण (Cascade) मा उपयोग गरेर धेरै जलविद्युत आयोजना विकास गरिएका छन् । माथिल्लो आयोजनाबाट निस्केको पानी तलको आयोजनाको स्रोत बन्छ । यही कारणले एउटै नदीबाट धेरै विद्युत उत्पादन सम्भव भएको छ ।
बुढीगण्डकीमा पनि सम्भव छ क्यास्केड मोडेल
नेपालमा पनि बुढीगण्डकी, नेत्रावती, आँखु खोला तथा अन्य सहायक नदीहरूको उद्गम क्षेत्रदेखि तलसम्मको सम्पूर्ण नदी प्रणालीमा यस्तै अवधारणा लागू गर्न सकिन्छ कि सकिँदैन भन्ने विषयमा तत्काल राष्ट्रिय स्तरको अध्ययन आवश्यक छ ।
यदि वैज्ञानिक अध्ययनले क्यास्केड विकास उपयुक्त देखायो भने हाल प्रस्तावित १,२०० मेगावाटभन्दा धेरै विद्युत उत्पादन गर्ने सम्भावना खुल्न सक्छ । त्यस्तो अध्ययनले कुल क्षमता हजारौँ मेगावाटको स्तरसम्म पुग्न सक्छ कि सक्दैन भन्ने स्पष्ट उत्तर दिन सक्छ ।
क्यास्केड विकासका सम्भावित फाइदाहरू
क्यास्केड मोडेलले नेपाललाई बहुआयामिक लाभ दिन सक्छ ।
पहिलो, एउटै पहुँच सडक, प्रसारण लाइन, निर्माण शिविर तथा अन्य पूर्वाधार धेरै आयोजनाले साझा गर्न सक्ने भएकाले समग्र विकास लागत घट्न सक्छ ।
दोस्रो, एउटै नदीबाट पानीको ऊर्जा पटक–पटक उपयोग गर्न सकिने भएकाले राष्ट्रिय ऊर्जा उत्पादन उल्लेखनीय रूपमा बढ्न सक्छ ।
तेस्रो, हजारौँ नेपाली युवाले निर्माण तथा सञ्चालनका क्रममा प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारी पाउन सक्छन् ।
चौथो, आयोजना आसपासका क्षेत्रमा नयाँ सडक, पुल, अस्पताल, विद्यालय, प्राविधिक शिक्षालय, खानेपानी, सञ्चार तथा अन्य पूर्वाधारको विकास तीव्र हुन सक्छ ।
पाँचौँ, स्थानीय व्यवसाय, पर्यटन, कृषि, उद्योग तथा सेवा क्षेत्र विस्तार हुँदै जनजीवनको गुणस्तरमा उल्लेखनीय सुधार आउन सक्छ ।
अब ५० वर्षअगाडिको सोच आवश्यक
आज नेपाल विद्युत निर्यात गर्ने सम्भावना बोकेको देश हो । त्यसैले अब हामीले केवल एउटा आयोजना बनाउने होइन, आगामी ५० वर्षलाई दृष्टिगत गर्दै सम्पूर्ण नदी बेसिनको ऊर्जा विकास योजना बनाउनुपर्छ ।
म नेपाल सरकारसँग विनम्र अनुरोध गर्दछु कि बुढीगण्डकी १,२०० मेगावाट आयोजना निर्माणलाई निरन्तरता दिँदै त्यससँगै बुढीगण्डकी–नेत्रावती–आँखु खोला नदी प्रणालीको Cascade Hydropower Master Plan तत्काल सुरु गरियोस् ।
साथै, भारतको टिस्टा–रङ्गित नदी प्रणालीको अध्ययन गर्न नेपाली प्राविधिक टोली पठाई त्यहाँको अनुभव नेपालमा उपयोग गर्ने मार्ग खोजियोस् ।
निष्कर्ष
नेपालको समृद्धि केवल हिमालमा छैन; त्यो हिमालबाट बग्ने नदीहरूको वैज्ञानिक, योजनाबद्ध र दीर्घकालीन उपयोगमा छ । आज सही निर्णय गर्न सक्यौँ भने भोलिका पुस्ताले त्यसको प्रतिफल ऊर्जा, रोजगारी, उद्योग, शिक्षा, स्वास्थ्य र समृद्ध जीवनका रूपमा प्राप्त गर्नेछन् ।
लेखक परिचय
हरि गिरी विद्युत इन्जिनियर हुन् । उनले भारतको सिक्किमस्थित रङ्गित नदी प्रणालीका जलविद्युत आयोजनाहरूमा करिब पाँच वर्ष कार्य गरेका छन् । हाल उनी New York City Department of Environmental Protection (NYC DEP) मा Electrical Engineer का रूपमा कार्यरत छन् । साथै, उनी धादिङ नेपाली समाज अमेरिकाका महासचिव हुन् ।
