नेवा: पुच: कतारको १५औं स्थापना दिवस सम्पन्न, नेवारी भाषा र संस्कृतिको संरक्षणमा जोड

Avatar photo
Dhadingpost
असार २७, २०८३

काठमाडौं/कतार । “आफ्नोपन, आफ्नो पहिचानका लागि नेवारी एकता, भाषा, भेषभूषा र संस्कृतिको संरक्षण आजको आवश्यकता” भन्ने मूल नारासहित सन् २०११ मा स्थापना भएको नेवा: पुच: कतार ले आफ्नो १५औं स्थापना दिवस भव्य रूपमा मनाएको छ ।

कतारको सनैयास्थित प्लाजा मलमा रहेको वेल्फेयर रेस्टुरेन्टको सभाहलमा आयोजित कार्यक्रममा नेवा: पुच: कतारकी अध्यक्ष जमुना श्रेष्ठको सभापतित्व रहेको थियो भने जनजाति महासंघ कतारका अध्यक्ष राकेश श्रेष्ठ प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए ।

कार्यक्रममा विभिन्न मातृसंस्थाका अध्यक्ष तथा पदाधिकारीहरूको समेत उल्लेखनीय उपस्थिति रहेको थियो । स्थापना दिवसको अवसरमा उपस्थित अतिथिहरूले शुभकामना मन्तव्य व्यक्त गर्दै विदेशमा रहेर पनि नेवारी भाषा, कला, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धनमा नेवा: पुच: कतारले खेलेको भूमिकाको प्रशंसा गरेका थिए ।

कार्यक्रमको समापन नेवारी परम्परा अनुसार उपस्थित अतिथिहरूलाई सगुन भोज गराएर गरिएको थियो । संस्थाका सचिव रामहरि श्रेष्ठका अनुसार स्थापना दिवसले कतारमा रहेका नेवार समुदायबीच आपसी एकता, सांस्कृतिक पहिचानको संरक्षण र भावनात्मक सम्बन्धलाई अझ सुदृढ बनाएको विश्वास व्यक्त गरिएको छ ।

नेवा: पुच: कतारले विगत १५ वर्षदेखि कतारमा रहेका नेपाली नेवार समुदायलाई संगठित गर्दै भाषा, संस्कृति, परम्परा तथा मौलिक पहिचान संरक्षणका विभिन्न गतिविधि सञ्चालन गर्दै आएको छ ।