
धादिङ । अमेरिकामा रहेका धादिङवासीहरूको साझा संस्था धादिङ नेपाली समाज अमेरिका (DNSA) ले सन् २०२६ को नयाँ कार्यसमिति चयनका लागि निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । निर्वाचन समितिले शुक्रबार उम्मेदवारी आह्वानसहित निर्वाचन कार्यक्रम सार्वजनिक गर्दै आगामी जुन १४ मा निर्वाचन सम्पन्न हुने जनाएको छ ।
निर्वाचन समितिका संयोजक रामहरि अधिकारी तथा सदस्यहरू दिवाकर पाण्डे र कुलप्रसाद गौलीद्वारा सार्वजनिक गरिएको तालिकाअनुसार जुन ५ मा मतदाता नामावली प्रकाशन, जुन ६ देखि ८ तारिखसम्म बिहान ९ बजेदेखि राति ९ बजेसम्म उम्मेदवारी दर्ता गर्न सकिने व्यवस्था गरिएको छ ।
सार्वजनिक सूचनाअनुसार अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष, सह–कोषाध्यक्ष तथा १२ जना कार्यसमिति सदस्य पदका लागि उम्मेदवारी खुला गरिएको छ । उम्मेदवारी शुल्क अध्यक्ष पदका लागि ७५० अमेरिकी डलर, वरिष्ठ उपाध्यक्षका लागि ५५० डलर, उपाध्यक्ष र महासचिवका लागि ५००–५०० डलर, सचिव र कोषाध्यक्षका लागि ४००–४०० डलर तथा सह–कोषाध्यक्षका लागि ३०० डलर तोकिएको छ । कार्यसमिति सदस्य पदका उम्मेदवारले २०० डलर शुल्क बुझाउनुपर्नेछ ।
निर्वाचनका मुख्य कार्यक्रम
- जुन ५ : मतदाता नामावली प्रकाशन
- जुन ६–८ : उम्मेदवारी दर्ता
- जुन ९ : उम्मेदवार नामावली प्रकाशन
- जुन १० : उजुरी दर्ता
- जुन ११ : प्रारम्भिक उम्मेदवार सूची प्रकाशन
- जुन १२ : उम्मेदवारी फिर्ता र अन्तिम नामावली प्रकाशन
- जुन १४ : वार्षिक साधारणसभा तथा निर्वाचन
निर्वाचन समितिले उम्मेदवार बन्न इच्छुक व्यक्तिहरू संस्थाको नियमित सदस्य हुनुपर्ने, कम्तीमा १८ वर्ष उमेर पूरा गरेको हुनुपर्ने तथा निर्वाचनअघि कम्तीमा ३० दिनदेखि सदस्यता कायम गरेको हुनुपर्ने जनाएको छ । अध्यक्ष पदका उम्मेदवारले यसअघि कम्तीमा एक कार्यकाल बोर्ड पदाधिकारीको जिम्मेवारी सम्हालेको हुनुपर्ने प्रावधान राखिएको छ। साथै उम्मेदवार अमेरिकामा बसोबास गरिरहेको र धादिङ जिल्लामा जन्मिएको वा कुनै समय बसोबास गरेको हुनुपर्ने उल्लेख गरिएको छ ।
निर्वाचन कार्यतालिकाअनुसार जुन ९ मा उम्मेदवारहरूको नामावली प्रकाशन गरिनेछ भने जुन १० मा उम्मेदवारविरुद्ध उजुरी दर्ता गर्न सकिनेछ । जुन ११ मा प्रारम्भिक उम्मेदवार सूची सार्वजनिक गरिनेछ । त्यसैगरी जुन १२ मा उम्मेदवारी फिर्ता लिने अन्तिम समय दिइएको छ र सोही दिन अन्तिम उम्मेदवार सूची प्रकाशन गरिनेछ ।
निर्वाचन समितिले जुन १४ मा वार्षिक साधारणसभा (AGM) सम्पन्न गरेपछि साँझ ५ बजेपछिबाट मतदान प्रक्रिया सुरु हुने जनाएको छ । निर्वाचन स्थल भने कार्यसमितिको निर्णयपछि सार्वजनिक गरिने उल्लेख गरिएको छ।
धादिङ नेपाली समाज अमेरिका हाल टकबहादुर रुवालीको अध्यक्षतामा सञ्चालन भइरहेको छ । अमेरिकामा करिब ३ हजारको हाराहारीमा धादिङका बासिन्दा रहेको अनुमान गरिएको छ ।
