लोकतन्त्रको दुई दशक: विविध कार्यक्रम आज

Avatar photo
Dhadingpost
बैशाख ११, २०८३

काठमाडौँ । नेपालमा लोकतन्त्र स्थापना भएको दुई दशक पूरा भएको अवसरमा आज देशभर विविध कार्यक्रम गरी लोकतन्त्र दिवस मनाइँदैछ । २०६३ साल वैशाख ११ गते तत्कालीन राजा Gyanendra Shah ले आन्दोलनरत राजनीतिक दलहरूको मार्गचित्रअनुसार विघटन भएको संसद् पुनर्स्थापना गरेपछि नागरिकको जितका रूपमा यस दिनलाई स्मरण गर्दै २०६४ सालदेखि लोकतन्त्र दिवस मनाउने गरिएको हो ।

२०६१ साल माघ १९ गते राजाले शासन सत्ता आफ्नो हातमा लिएपछि आन्दोलनरत सात राजनीतिक दल र तत्कालीन Communist Party of Nepal (Maoist) बीच १२ बुँदे समझदारी भएको थियो । २०६२ साल मङ्सिरमा भएको उक्त समझदारीपछि देशव्यापी जनआन्दोलनले तीव्रता पाएको थियो ।

आन्दोलनरत दलहरूले तयार पारेकै मस्यौदाका आधारमा २०६३ वैशाख ११ गते राति संसद् पुनर्स्थापनाको घोषणा गरिएको थियो । त्यसपछि २०६३ जेठ ४ गते बसेको संसद्ले राजाका अधिकार कटौती गर्दै माओवादीलाई शान्ति प्रक्रियामा ल्याउने तथा संविधानसभा निर्वाचन गर्ने सङ्कल्प प्रस्ताव पारित गरेको थियो ।

यसै प्रक्रियाको जगमा २०६४ चैत २८ गते पहिलो संविधानसभा निर्वाचन सम्पन्न भयो । संविधानसभाको पहिलो बैठकले २०६५ जेठ १५ गते २४० वर्ष लामो राजसंस्थाको अन्त्य गर्दै नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको थियो ।

२०७० मङ्सिर ४ गते दोस्रो संविधानसभा निर्वाचन सम्पन्न भई सोही सभाले २०७२ साल असोज ३ गते नयाँ संविधान जारी गरेको थियो । संविधान कार्यान्वयनसँगै हाल देशमा सङ्घीय, प्रादेशिक र स्थानीय तह गरी तीन तहका सरकार सञ्चालनमा छन् ।

संघीयताको अभ्याससँगै संघ, प्रदेश र स्थानीय तहबीचको समन्वयले सेवा प्रवाहलाई नागरिकको घरदैलोमै सहज बनाउँदै लगेको छ भने विपद्का समयमा पनि तत्काल राहत तथा सहयोग उपलब्ध गराउने कार्य प्रभावकारी हुँदै गएको छ ।

लोकतन्त्र स्थापना पछिका दुई दशकमा राजनीतिक, सामाजिक तथा आर्थिक क्षेत्रमा उल्लेखनीय परिवर्तन आएको छ । यिनै उपलब्धिहरूको स्मरण गर्दै आज देशभर विभिन्न कार्यक्रम आयोजना गरी लोकतन्त्र दिवस मनाइँदैछ ।