धादिङमा वैशाख ४ देखि टी–२० क्रिकेट प्रतियोगिता, टिमहरू अभ्यास खेलमा व्यस्त

Avatar photo
Dhadingpost
चैत्र २८, २०८२

धादिङ । धादिङ जिल्ला क्रिकेट संघले वैशाख ४ देखि ९ गतेसम्म जिल्ला स्तरीय टी–२० क्रिकेट प्रतियोगिता आयोजना गर्ने भएपछि विभिन्न टिमहरू यतिबेला अभ्यास खेलमा व्यस्त भएका छन् ।

आज गजुरीस्थित गलौंदी खेल मैदानमा सम्पन्न अभ्यास खेलमा गल्छी गाउँपालिकाले गजुरीमाथि प्रभावशाली प्रदर्शन गरेको छ ।

पहिलो खेलमा गल्छीले गजुरी गाउँपालिकालाई ८८ रनमै समेट्दै १०.४ ओभरमै सहज जित हात पारेको हो। उक्त खेलमा रञ्जित भण्डारीले ४ विकेट लिए भने प्रबिन खतिवडाले ३७ रनको योगदान दिएका थिए ।

दोस्रो खेलमा गल्छीले १४० रन बनाउँदै बलियो प्रदर्शन गर्‍यो। सरोज योञ्जनले शानदार ६५ रन बनाए भने समीर अधिकारीले ३ विकेट लिँदै टोलीलाई ७७ रनको जित दिलाएका थिए ।।

धादिङ जिल्ला क्रिकेट संघका अध्यक्ष दिपेश कडेलका अनुसार जिल्लाभित्र तथा बाहिर रहेका धादिङका खेलाडीहरूको उत्साहजनक सहभागिताले प्रतियोगिता अझ भव्य हुने अपेक्षा गरिएको छ ।

उनका अनुसार प्रतियोगिताबाट उत्कृष्ट खेलाडी छनोट गरी जिल्ला टिम निर्माण गरिनेछ र उक्त टिम प्रदेशस्तरीय प्रतियोगितामा सहभागिता जनाउनेछ ।

प्रतियोगिता नजिकिँदै जाँदा खेलाडीहरू तयारीमा जुटेसँगै जिल्लामा क्रिकेटको माहोल थप तातिएको छ ।