
धादिङ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२ औं अन्तर्राष्ट्रिय महाधिवेशनबाट धादिङ घर भई विभिन्न देशमा बसोबास गर्दै आएका ६ जना विभिन्न महत्वपूर्ण पदमा चयन भएका छन् ।
महाधिवेशनबाट बेल्जियममा रहेका लोकप्रसाद दाहाल, यूएईमा रहेका मनोज कुमार श्रेष्ठ र बेलायतमा रहेका रामशरण सिंखडा उपाध्यक्षमा निर्वाचित भएका छन् ।
त्यस्तै, बेलायतमा बस्दै आएकी प्रसुन्ना कडेल र अष्ट्रेलियामा रहेका सुजन अधिकारी सचिवमा चयन भएका छन् भने बेलायतमै कार्यरत कृष्णप्रसाद तिम्सिना कोषाध्यक्ष बनेका छन् ।
नयाँ कार्यसमितिमा धादिङबाट उपाध्यक्ष, सचिव र कोषाध्यक्षजस्ता महत्वपूर्ण पदमा प्रतिनिधित्व हुनु जिल्लाका लागि उपलब्धिको रूपमा हेरिएको छ ।
महाधिवेशनले डा. हेमराज शर्मालाई अध्यक्षमा निर्वाचित गरेको छ भने रविन शेरचन वरिष्ठ उपाध्यक्ष बनेका छन् । नयाँ कार्यसमितिमा २१ जना उपाध्यक्ष, १३ जना सचिव, ६ जना उपमहासचिव, १ महासचिवसहित विभिन्न पदमा पदाधिकारी चयन भएका छन् ।
