नयाँ संसद् घण्टीमय, प्रत्यक्षमा रास्वपाले जित्यो १२५ सिट

Avatar photo
Dhadingpost
फाल्गुन २६, २०८२

काठमाडौं । प्रतिनिधि सभा निर्वाचनअन्तर्गत प्रत्यक्षतर्फका १६५ वटै निर्वाचन क्षेत्रको अन्तिम नतिजा सार्वजनिक भएको छ । सार्वजनिक परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले १२५ सिट जित्दै नयाँ संसद्मा सबैभन्दा ठूलो दलको रूपमा उदाएको छ ।

निर्वाचन परिणामले प्रत्यक्षतर्फ संसद् ‘घण्टीमय’ बनेको देखिएको छ। रास्वपाले अत्यधिक बहुमतका साथ अधिकांश निर्वाचन क्षेत्रमा विजय हासिल गरेको हो ।

प्रत्यक्षतर्फ नेपाली कांग्रेसले १८ सिट जितेको छ भने नेकपा (एमाले) ले ९ सिट र नेपाल कम्युनिष्ट पार्टीले ८ सिट जितेका छन् । त्यसैगरी श्रम संस्कृति पार्टीले ३ सिट जित्दा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र एक स्वतन्त्र उम्मेदवारले १/१ सिटमा विजय हासिल गरेका छन् ।

प्रतिनिधि सभामा कुल २७५ सिट रहेका छन्, जसमध्ये १६५ सिट प्रत्यक्ष निर्वाचनबाट र ११० सिट समानुपातिक प्रणालीबाट चयन हुन्छन् । सरकार गठनका लागि कम्तीमा १३८ सिट आवश्यक पर्ने व्यवस्था छ ।

यता समानुपातिकतर्फ मतगणना अन्तिम चरणमा पुगेको छ । हालसम्मको गणनाअनुसार रास्वपाले ठूलो मतान्तरसहित अग्रता कायम राखेको छ । यदि यही अनुपात कायम रहे रास्वपाले समानुपातिकतर्फ पनि उल्लेख्य सिट प्राप्त गर्ने देखिएको छ ।

अन्तिम परिणाम सार्वजनिक भएसँगै नयाँ संसद्मा दलहरूको सिट संख्या अझ स्पष्ट हुने अपेक्षा गरिएको छ ।