
धादिङ । खनियाबास गाउँपालिका–५, गोरगङमा अहिंसावादी युवा क्लबको आयोजनामा सम्पन्न पुरुष भलिबल प्रतियोगितामा आयोजक अहिंसावादी युवा क्लब विजेता बनेको छ ।
प्रतियोगिताको फाइनलमा नुवाकोटको न्यु लालिगुरास युवा क्लब, मेघाङ–९ किम्ताङलाई पराजित गर्दै अहिंसावादी क्लबले प्रथम स्थान हासिल गरेको हो । त्यसैगरी, आदिवासी युवा क्लब (खनियाबास–५) तृतीय र सिक्स स्टार युवा क्लब सान्त्वना विजेता बनेका छन् ।

चार पोल बनाएर सञ्चालन गरिएको प्रतियोगितामा कुल १८ टिमले सहभागिता जनाएका थिए ।
विजेता टोलीले रु. ५०,५००, उपविजेताले रु. २५,५००, तृतीय स्थानले रु. १५,५०० र सान्त्वना टोलीले रु. ५,५०० नगद पुरस्कार प्राप्त गरेका छन् ।
व्यक्तिगत विधातर्फ उत्कृष्ट खेलाडी घोषणा अनुसार —
- उत्कृष्ट सेटर : रोहित असरपाती
- उत्कृष्ट ब्लकर : विङ्साङ तामाङ
- उत्कृष्ट स्पाइकर : मिलन घले
समापन समारोहका प्रमुख अतिथि गाउँपालिका उपाध्यक्ष सक्केमान तामाङ रहेका थिए । उनले खेलकुदले युवालाई अनुशासित, सक्रिय र समाजप्रेमी बनाउने उल्लेख गर्दै यस्ता प्रतियोगिताले गाउँमा युवा जागर र एकता सुदृढ पार्न सहयोग पुर्याएको बताएका थिए ।
उपाध्यक्षले आगामी दिनमा पालिकाले खेलकुदका गतिविधिमा अझ सहयोग र प्रोत्साहन दिने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।प्रतियोगिता २०८२ असोज १९ गते सम्पन्न भएको हो ।
















