
धादिङ । नीलकण्ठ–१४ स्थित कुपा खेलमैदानमा भाेली (असोज ११ गते)देखि २१ गतेसम्म सञ्चालन हुने पाँचौँ कुपा खुल्ला नकआउट सेभेन–ए–साइड फुटबल प्रतियोगिताकाे ट्रफी शुक्रबार अनावरण गरिएको छ ।
भँगेरीचुलीमा आयोजित विशेष समारोहमा वडा अध्यक्ष नवराज दुवाडी, जिल्ला फुटबल संघका उपाध्यक्ष सुरेश तामाङ, सहभागी क्लबका प्रतिनिधिहरु तथा स्थानीयको उपस्थितिमा ट्रफी सार्वजनिक गरिएको कुपा युवा समाजका अध्यक्ष हर्क गुरुङले जानकारी दिए ।
यस पटकको प्रतियोगितामा ३२ टिमले सहभागिता जनाउनेछन् । उद्घाटन खेल शनिबार बिहान १० बजे हुने जनाइएको छ ।
फुटबलतर्फ प्रथम हुने टोलीले १ लाख १०० रुपैयाँसहित आकर्षक ट्रफी, प्रमाणपत्र र मेडल प्राप्त गर्नेछ भने द्वितीय हुनेले ५० हजार १०० रुपैयाँ पुरस्कार पाउनेछन् । यस्तै, सेमिफाइनलमा रोकिएका दुई टिमलाई जनही १५–१५ हजार रुपैयाँ प्रदान गरिनेछ ।
यस्तै, दौडतर्फ असोज २१ गते हुने ५ किलोमिटर मिनी म्याराथनमा विजेताले २३ हजार रुपैयाँ र दोस्रो हुनेले ११ हजार ५०० रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ ।
यस अघिका संस्करणहरूमा को विजयी भएका थिए?
- चौंथो कुपा कप: फुटबल तर्फ मेन्दोफोले युबा क्लब र दौड तर्फ बैतडीका नरेन्द्र रावत प्रथम
- तेस्रो कुपा कप: फुटबल तर्फ पुरानो पानी नुवाकोट र दौड तर्फ बैतडीका नरेन्द्र रावत प्रथम
- दोस्रो कुपा कप: फुटबल तर्फ थर्पु युवा क्लब नेत्रावती डवजोङ प्रथम
- पहिलो कुपा कप: फुटबल तर्फ भङ्गेरी युवा क्लब धुवाकोट प्रथम














