
काठमाडौं । नेपाली कांग्रेस र नेकपा एमालेको संयुक्त सरकार बन्ने तय भएपछि कांग्रेसभित्र मन्त्री बन्ने आकांक्षीको लर्को लागेको छ । आकांक्षीहरु यतिबेला आ आफ्नो गुटका नेतालाई दवाव दिई रहेका छन् ।
को को लाई मन्त्री बनाउने कस्को नेतृत्वमा पठाउने पार्टी देउवाको हातमा रहेपनि अहिले सम्म कांग्रेसमा संस्थापन समूहबाट डा. आरजु राणा देउवा, रामहरि खतिवडा, कान्तिका सेजुवाल, उदयशमशेर जबरा, किशोरसिंह राठोर, शंकर भण्डारी, अजय चौरासिया, विनोद चौधरी र श्याम घिमिरे मन्त्रीका आकांक्षी छन् । शेखर–गगन पक्षबाट भने जीवन परियार, चन्द्र भण्डारी, अर्जुन नरसिंह केसी, हृदयराम थानी, सरिता प्रसाईं, मुक्ताकुमारी यादव आकांक्षी छन् । डा. शशांक कोइराला समूहबाट दीपक गिरी र दीपक खड्का आकांक्षी छन् ।
कांग्रेसबाट नेतृत्व गर्दै गृह मन्त्रालय लिएर सरकारमा जानेमा प्रमुख सचेतकसमेत रहेका रमेश लेखकको सम्भावना बलियो छ। यतिबेला देउवा आफ्नो विश्वासपात्रको नेतृत्वमा सरकारमा मन्त्री पठाउन लागेका छन् । देउवा निकट स्रोतका अनुसार लेखककै नेतृत्वमा सरकारमा कांग्रेसका नेताहरू सहभागी हुँदै छन् । त्यसोत आकांक्षीका रूपमा उपप्रधानमन्त्री पाए भने सरकारको नेतृत्व गरेर पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र पूर्वउपसभापति प्रकाशमान सिंह पनि जाने तयारीमा छन् ।
एमालेले सरकारको नेतृत्व गरेपछि कांग्रेसले ११ र एमालेले १० मन्त्रालय पाउने सहमति भएको छ । मन्त्रालय भागबन्डामा दुई दलबीच विवाद देखिँदैन। कांग्रेसका अर्का एक नेताका अनुसार गृह र परराष्ट्र कांग्रेसले लिने र अर्थ र सञ्चार एमालेले लिने सहमति भएको छ । अन्य मन्त्रालयका विषयमा भने शीर्ष नेताहरू छलफलमै जुटिरहेका छन् ।

