
काठमाडौं । बागमती प्रदेशसभाको दोस्रो कार्यकालको पहिलो बैठकमा आज मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेको तर्फबाट आन्तरिक मामिला तथा काकूमन्त्री कृष्णप्रसाद शर्मा खनालले प्रदेश निजामती सेवाको गठन, संचालन र सेवाको शर्तहरु सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश २०७९ र स्थानीय तहका सेवाको गठन तथा संचालन सम्बन्धमा व्यवस्थान गर्न बनेको अध्यादेश, २०७९ प्रस्तुत गरेका छन् ।
यस्तै, बैठकमा स्वास्थ्यमन्त्री निमा लामाको तर्फबाट सँस्कृति तथा पर्यटनमन्त्री दिपेन्द्र श्रेष्ठले प्रदेश स्वास्थ्य सेवा ऐन २०७५ लाई संशोधन गर्न बनेको अध्यादेश प्रस्तुत गरेका थिए भने कृषि तथा पशुपन्छी विकासमन्त्री बसुन्धरा हुमागाईले प्रदेश कृषि सम्बन्धमा व्यवस्थान गर्न बनेको अध्यादेश २०७९ र उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मिलनबाबु श्रेष्ठले प्रदेश हस्तकलाग्राम स्थापना तथा संचालनको सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश २०७९ प्रस्तुत गरेका थिए ।
सो बैठकमा ज्येष्ठ सदस्य रामप्रसाद ढुंगानाले बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले बागमती प्रदेशसभाको बैठक आह्वान गरेको पत्रको व्यहोरा पढेर सुनाएका थिए । ज्येष्ठ सदस्य ढुंगानाले प्रदेशसभाको अर्को बैठक यही पुस २९ गते दिनको ११ बजे बस्ने गरी आजको बैठक स्थगित गरेका छन् ।
