
धादिङ । चेपाङ समुदायले मनाउने न्वागी (छोनाम) पर्वको अवसरमा भदौ २२ गते सोमबार धादिङमा सार्वजनिक बिदा हुने भएको छ ।
बागमती प्रदेश सरकारको आन्तरिक मामिला, कानून तथा सहकारी मन्त्रालयले सूचना जारी गर्दै धादिङ, चितवन र मकवानपुर जिल्लाभर भदौ २२ गते सार्वजनिक बिदा हुने जनाएको छ ।
चेपाङ समुदायले मनाउने प्रमुख सांस्कृतिक पर्व न्वागी (छोनाम) को अवसरमा प्रदेश सरकारले सम्बन्धित तीन जिल्लामा बिदा दिने निर्णय गरेको हो ।
मन्त्रालयले २०८३ भदौ १८ गते जारी गरेको सूचनाअनुसार उक्त दिन धादिङ जिल्लाभरका सम्बन्धित सरकारी कार्यालय, शैक्षिक संस्था तथा सार्वजनिक निकायमा बिदा लागू हुनेछ ।
न्वागी पर्वमा चेपाङ समुदायले नयाँ अन्नबाली, फलफूल तथा कन्दमूल पितृ तथा प्रकृतिलाई चढाएर पूजा गर्ने र त्यसपछि मात्र नयाँ उत्पादन उपभोग गर्ने परम्परा रहेको छ ।

