
धादिङ । बाढीबाट प्रभावित धादिङको गल्छी गाउँपालिका–६, बैरेनीस्थित श्री बागेश्वरी माध्यमिक विद्यालयलाई धादिङ सेवा समाज कतारले ६७ हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ ।
भदौ १० गते भोटेकोशी तथा त्रिशूली नदीमा आएको भीषण बाढीका कारण विद्यालयमा ठूलो क्षति पुगेको थियो । बाढीपछि विद्यालय परिसरको सरसफाइ तथा पठनपाठन पुनः सञ्चालनमा सहजीकरण गर्ने उद्देश्यले धादिङ सेवा समाज कतारले आर्थिक सहयोग उपलब्ध गराएको हो ।
समाजका अध्यक्ष आयुष घले र सचिव अम्बर बहादुर गुरुङले बैंक भौचरमार्फत ६७ हजार रुपैयाँ विद्यालयको खातामा जम्मा गराएको महासचिव रामहरि श्रेष्ठले जानकारी दिए ।
सहयोग गर्ने दाताहरू
विद्यालयलाई उपलब्ध गराइएको सहयोग रकम विभिन्न व्यक्ति तथा संस्थाबाट संकलन गरिएको हो । सहयोग गर्नेहरूमा उषा रिमाल नेपाल, सोमनाथ कडेल, आरके ढकाल, मेनुका खतिवडा भण्डारी, सुदिप खतिवडा, रामहरि श्रेष्ठ, राजेन्द्र कुमार श्रेष्ठ, रमेश इटानी, मिलन राना भाट, राजेन्द्र कुमार भण्डारी, बन्दना गिरी, रफिकुल इस्लाम (बंगलादेश), बाँके सेवा समाज (बाँके), बिनेश तामाङ (खोटाङ), दिलकुमार तामाङ (सोलुखुम्बु), पिपलल तामाङ (नुवाकोट), आयुष घले, कपिल अर्याल र अम्बर बहादुर गुरुङ रहेका छन् ।
सहयोग प्राप्त भएपछि विद्यालयका प्रधानाध्यापक ज्ञानु थापाले धादिङ सेवा समाज कतार तथा सम्पूर्ण सहयोगदाता प्रति धन्यवाद व्यक्त गरे ।
उनले प्राप्त सहयोगले बाढीबाट प्रभावित विद्यालयको सरसफाइ तथा पठनपाठनलाई सहज रूपमा सञ्चालन गर्न महत्वपूर्ण सहयोग पुगेको बताए ।
बाढीका कारण क्षति पुगेको बागेश्वरी माध्यमिक विद्यालयमा शैक्षिक गतिविधि नियमित बनाउन विभिन्न व्यक्ति तथा संस्थाबाट सहयोग जुट्ने क्रम जारी रहेको विद्यालयले जनाएको छ । स्रोत तस्वीरः प्रकाश मल्ल

