
काठमाडौं । मंसिर ४ गते हुने प्रतिनीधि सभा र प्रदेश सभाको चुनावमा मतदाताले छुट्टाछुट्टै रुपमा चारवटा मतपत्रमा आफूले इच्छाएको चुनाव चिह्नमा मतदान गर्ने व्यवस्था निर्वाचन आयोगले मिलाएको । आयोगले प्रतिनिधिसभा प्रत्यक्ष तर्फको मतपत्र सेतो पृष्ठभूमिमा रातो रङ्गको मतपत्र र प्रतिनिधिसभाको समानुपातिक तर्फ सेतो पृष्ठभूमिमा कालो रङ्गको निर्वाचन चिह्न भएको मतपत्रको व्यवस्था गरेको छ ।
यस्तै प्रदेशसभाको प्रत्यक्ष तर्फ सेतो पृष्ठभूमिमा रातो रङ्गको निर्वाचन चिह्न र प्रदेशसभाकै समानुपातिक निर्वाचन प्रणालीका लागि सेतो पृष्ठभूमिमा कालो रङ्गको निर्वाचन चिह्न भएको मतपत्रको व्यवस्था गरिएको आयोगले जनाएको छ ।
निर्वाचन आयोगले सुरुमा प्रतिनिधिसभाको प्रत्यक्ष तर्फको मतपत्र मतदातालाई उपलब्ध गराउने छ । उक्त मतपत्रमा इच्छाएको उम्मेदवारको चुनाव चिह्नमा छाप लगाएपछि पट्याएर नजिकैको ‘एक’ लेखिएको मतपेटिकामा मतपत्र खसाल्नु पर्नेछ । त्यसपछि दोस्रो चरणमा निजले पाउने प्रतिनिधिसभाकै समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्रमा इच्छाएको राजनीतिक दलको चुनाव चिह्नमा मतदान गरिसकेपछि पट्याएर ‘दुई’ लेखिएको मतपेटिकामा मतपत्र खसाल्नुपर्छ ।
तेस्रो चरणमा प्रदेशसभाको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीको मतपत्र उपलब्ध गराउने व्यवस्था गरिएको छ । यो मतपत्रमा इच्छाएको उम्मेदवारको चुनाव चिह्नमा मतदान गरिसकेपछि पट्यएर ‘तीन’ लेखिएको नजिकैको मतपेटिकमा मत खसाल्नुपर्छ । फाईल तस्वीर
चौथो तथा अन्तिम चरणमा प्रदेशसभाको समानुपातिकतर्फको मतपत्र मतदातालाई उपलब्ध गराउने व्यवस्था गरिएको छ । यो मतपत्रमा मतदाताले आफूले इच्छाएको राजनीतिक दलको निर्वाचन चिह्नमा मत सङ्केत गरिसकेपछि त्यसलाई पट्याएर ‘चार’ लेखिएको नजिकैको मतपेटिकामा मत खासाल्नु पर्नेछ । आयोगले गर्भवती, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक, बिरामी, किरियापुत्री, सुत्केरी मतदाता लाइनमा नबसी प्राथमिकताका आधारमा मतदान गर्न पाइने व्यवस्था गरिएको जनाएको छ ।








































