
हेटौंडा । नेपाल प्रेस युनियनको ९ औं राष्ट्रिय महाधिवेसनमा संस्थापन पक्ष र संस्थापन ईत्तर पक्षबिच कडा प्रतिस्पर्धा हुने भएको छ । झन्डै ८ बर्ष पछि हुन लागेको महाधिवेसनमा भाग लिनका लागि प्रतिनिधिहरु हेटौडा आईपुगेका छन् । १ हजार ६ सय ३० प्रतिनिधिले आगामी तीन बर्षका लागि नयाँ नेतृत्व चयन गर्नेछन् ।
नेपाली कांग्रेसको शुभेच्छक संस्था प्रेस युनियनको भावी नेतृत्वका लागि संस्थापन पक्षवाट अध्यक्षमा अनिता बिन्दु र संस्थापन ईत्तर पक्षवाट शिव लम्सालले आ–आफनो दावेदारी प्रस्तुत गरेका छन् । ‘आज प्रधानमन्त्रीले नवौं महाधिवेसनको उदघाटन गर्नुहुनेछ भने आजै निर्वाचनको प्रक्रिया पनि सुरु हुनेछ,’ कोषाध्यक्षका उम्मेदवार माधव धितालले भने, ‘भोली मतदान हुने र भोली नै मत परिणाम सार्वजनिक गर्ने कार्यतालिका रहेको छ ।’
सो महाधिवेसनमा संस्थापन पक्षवाट बरिष्ठ उपाध्यक्षमा सरोज अधिकारी र र संस्थापन इत्तर समुहवाट प्रेम केसीले उम्मेदवारी घोषणा गरेका छन् भने खुल्ला उपाध्यक्षका लागि भिष्मराज ओझा र शेखर रेग्मीले चुनावी मैदानमा उत्रने घोषणा गरेका छन् । उता, संस्थापन पक्षवाट महिला उपाध्यक्षमा कल्पना शर्मा र ईत्तर समुहवाट सलोजा दाहाल बीच कडा प्रतिस्पर्धा हुने देखिएको छ भने महासचिवमा संस्थापन पक्षवाट जगन्नाथ दुलाल र इत्तर समुहवाट दिलिप पौडेल बीच तिव्र प्रतिस्पर्धा हुने युनियन आवद्ध पत्रकारले जनाएका छन् ।
संस्थापन पक्षका उपमहासचिवका उम्मेदवार केशव साउँद र इत्तर समुहवाट बिष्णु क्षेत्री रहेका छन भने संस्थापन पक्षले कोषाध्यक्षमा माधव धितालले उम्मेदवार खडा गरेको छ भने उनीसँग रमेश वाग्ले प्रतिस्पर्धामा रहनेछन् । केन्द्रीय उपाध्यक्ष सुदुरपश्चिमका लागि हरिश भट्टलगायत छन भने महिला उपमहासचिवमा कुसुम बिक, दिलिपाश्री अधिकारीले उम्मेदवारी घोषणा गरेका छन् ।
यसैगरी, खुल्ला सचिवका लागि खगेन्द्र भण्डारी, तीर्थराज बस्नेत, लोकेन्द्र भट्ट, पदम अधिकारीलगायतले मैदानमा उत्रेका छन् भने महिला सचिवमा मेनुका भट्टलगायत उम्मेदवारी घोषणा गरेर प्रतिनिधिसँग मत मागिरहेका छन् । लेखा समिति संयोजकमा पदमराज जोशीलगायतले उम्मेदवारी घोषणा गरेका छन् भने केन्द्रीय सदस्यमा कृष्ण पहाडी, सरिता खनाललगायत दर्जनौंले उम्मेदवारी घोषणा गरेर हेटौडा आईपुगेका छन् ।
