अन्तर्राष्ट्रिय धादिङ समाजद्वारा बाढी प्रभावितलाई राहत सामग्री वितरण

Avatar photo
Dhadingpost
भदौ १८, २०८३

धादिङ । अन्तर्राष्ट्रिय धादिङ समाजले बाढी तथा विपद्बाट प्रभावित परिवारका लागि राहत सामग्री वितरण गरेको छ।

अन्तर्राष्ट्रिय धादिङ समाजको आयोजना तथा धादिङ नेपाली समाज अमेरिका, धादिङ समाज अस्ट्रेलिया, बहराइन, साउदी अरब र बेल्जियमको संयुक्त सहकार्यमा प्रभावित परिवारलाई राहत सामग्री वितरण गरिएको समाजका अध्यक्ष राजन खकुरालले जानकारी दिए ।

विपद्का कारण समस्यामा परेका प्रभावित नागरिकलाई तत्काल आवश्यक सामग्री उपलब्ध गराउने उद्देश्यले विदेशमा रहेका धादिङेलीहरूको सहयोग र सहकार्यमा राहत सामग्री संकलन गरी वितरण सुरु गरिएको अध्यक्ष खकुरालले बताए ।

राहतस्वरूप प्रभावित परिवारलाई निम्न सामग्री वितरण :

  • २०० थान म्याट
  • १०० थान फाइबर ब्ल्याङ्केट
  • १०० थान ट्र्याकसुट
  • १०० वटा झुल
  • १०० जोर जुत्ता
  • १०० वटा टी–सर्ट
  • २०० वटा दाँत माझ्ने ब्रस
  • साबुन तथा मास्क

बाढी तथा विपद्का कारण आवास, दैनिक जीवनयापन र स्वास्थ्यमा समस्या भोगिरहेका नागरिकलाई लक्षित गरी राहत सामग्री वितरण गरिएको हो ।

अध्यक्ष खकुरालका अनुसार विपद्को समयमा प्रभावित नागरिकलाई तत्काल राहत पुर्‍याउन विदेशमा रहेका धादिङेलीहरूबाट प्राप्त सहयोगलाई व्यवस्थित रूपमा संकलन गरी आवश्यकताका आधारमा वितरण गरिनेछ ।

देशबाट टाढा रहे पनि आफ्नो जिल्लाका नागरिकमाथि परेको विपद्मा विदेशमा रहेका धादिङेलीहरूले देखाएको सहयोग र एकताले मानवीय भावना तथा सामाजिक उत्तरदायित्वको उदाहरण प्रस्तुत गरेको छ।

अन्तर्राष्ट्रिय धादिङ समाजले यसअघि पनि विपद् तथा संकटका समयमा महत्वपूर्ण सहयोग गर्दै आएको छ। भूकम्पका बेला तथा कोरोना महामारीको संकटमा समाजले उल्लेखनीय सहयोग गरेको थियो। त्यसका अतिरिक्त समाजले स्वास्थ्य, शिक्षा र खेलकुदका क्षेत्रमा समेत नियमित रूपमा सहयोग गर्दै आइरहेको अध्यक्ष खकुरालले बताए।

विपद्का समयमा मात्र नभई स्वास्थ्य, शिक्षा र खेलकुदजस्ता सामाजिक क्षेत्रको विकासमा निरन्तर योगदान गर्दै आएको समाजले यसपटक पनि विदेशमा रहेका धादिङेलीहरूको सहयोग र सहकार्यमा बाढी प्रभावित नागरिकलाई राहत सामग्री उपलब्ध गराएको हो।