
धादिङ । धादिङको नीलकण्ठ नगरपालिका फेरि उत्कृष्ट बन्दै पुरस्कृत भएको छ । यस अघि पनि सरकारको विभिन्न सूचाङ्कको आधारमा उत्कृष्ट बन्दै आएको थियो ।
नेपाल नगरपालिका संघले आइतबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी पाँच विधामा उत्कृष्ट सात नगरपालिकालाई पुरस्कार प्रदान गरेकोमा नीलकण्ठ समेत परेको हो ।
संस्थागत विकास सेवा प्रवाह तथा सहरी योजना पूर्वाधार विकास तथा विपद् व्यवस्थापन विधामा धादिङको नीलकण्ठ नगरपालिका उत्कृष्ट ठहर भएको हो । पुरस्कृत भएका नगरपालिकाका प्रतिनिधिलाई प्रधानमन्त्री देउवाले पुरस्कार प्रदान गरेका थिए ।
पुरस्कृत हुने अन्य नगरपालिकाहरुमा संस्थागत विकास सेवा प्रवाह र वित्तिय सुशासन विधामा स्याङ्जाको वालिङ नगरपालिका र पुतलीबजार नगरपालिका, वातावरण तथा जलवायु परिवर्तन विधामा इलामको इलाम नगरपालिका, स्थानीय आर्थिक विकास विधामा हरिवन नगरपालिका, सामाजिक विकास विधा तिलोत्तमा नगरपालिका र राप्ती नगरपालिकालाई उत्कृष्ट ठहर गरिएको छ ।
