
धादिङ । जिल्ला खेलकुद विकास समिति धादिङले बागमती प्रदेश सरकारको आयोजनामा हुने प्रथम बागमती प्रदेश स्तरीय खेलकुद प्रतियोगिताको लागि आज धादिङका ब्याडमिण्टनका खेलाडीहरुलाई विदाई गरेको छ ।
जिल्ला खेलकुद विकास धादिङका अध्यक्ष प्रतापसिं तामाङले ब्याडमिण्टनका खेलाडीहरुलाई धादिङबेसीबाट प्रदेश स्तरीय प्रतियोगिताको लागि विदाई गरेका हुन् । स्थानीय तह हुँदै जिल्ला छनोटमा परेका ८ विधाका खेलाडीहरु प्रदेश स्तरीय प्रतियोगिताको लागि पठाईने अध्यक्ष तामाङले धादिङपोष्टलाई बताए ।
प्रदेशका लागि धादिङबाट छनोट भएका खेलाडीहरुमा पुरुष तर्फ सविन तामाङ, इश्वर थापा मगर, राम मल्ल, अश्विन मगर, आशिष राना, मोहन गुरुङ र महिला तर्फ वविता पुरी, रुविना थापा, निप्ठा श्रेष्ठ, सूचना अधिकारी, कविता बस्नेत रहेका छन् भने यो दुबै टिमको कोच बुद्धिबहादुर थापा र म्यानेजरमा अन्जान श्रेष्ठ रहेका छन् ।
आज एक विशेष कार्यक्रमको आयोजनामा बागमती प्रदेशका मुख्य मन्त्री राजेन्द्रप्रसाद पाण्डले प्रदेश स्तरीय खेलकुद प्रतियोगितको उद्घाटन गर्ने कार्यक्रम रहेको छ भने यो प्रतियोगिता चैत्र १२ गते सम्म जारी रहने प्रदेश खेलकुद परिषदले जनाएको छ ।
प्रतियोगितामा फुटबल, ब्याडमिन्टन, क्रिकेट, तेक्वान्दो, भलिबल, कराते, एथलेटिक्स र बक्सिङ समावेश गरिएको छ । मकवानपुरको हेटौंडाले तीन खेलको आयोजना गर्ने अवसर पाएको छ । पिप्ले क्याम्पा रंगशालामा २९ फागुनदेखि पुरुष फुटबल हुदैछ । थानाभर्याङ कभर्डहलमा सोही दिनदेखि नै ब्याडमिन्टन हुनेछ । भुटनदेवी स्कुलमा चैत्र ५ देखि तेक्वान्दो हुनेछ ।
चितवनमा फागुन ३० देखि भलिबल र क्रिकेट एकै साथ सुरु हुनेछन् । माडी खेल मैदानमा महिला तथा पुरुष भलिबल र गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा महिला तथा पुरुष क्रिकेटका खेलहरु संचालन हुनेछन् ।
त्यस्तै काठमाडौको दशरथ रंगशालामा चैत्र ६ देखि एथ्लेटिक्स हुनेछ । समापनसहित दुई खेलको आयोजना गर्ने अवसर काभ्रेले प्राप्त गरेको छ । महिला फुटबल चैत्र ७ देखि धुलिखेल फुटबल मैदानमा शुरु हुनेछ । चैत्र ९ देखि काभ्रेपलाञ्चोकमा बक्सिङ हुनेछ । सिन्धुपालञ्चोकमा चैत्र ७ गते देखि कराते शुरु हुनेछ । प्रतियोगिताको समापन चैत्र १२ गते काभ्रेपलाञ्चोकमा हुनेछ ।
प्रतियोगितालाई भब्य, व्यवस्थित र पारदर्शी बनाउन मुल आयोजक समितिका अलवा ६ वटा उपसमिति र ८ वटा प्राविधिक समिति गठन गरिएको छ । प्रतियोगितामा महिलातर्फ ९३९ र पुरुषतर्फ १२४९ गरि कुल २१८८ जना खेलाडीले आ–आफ्नो विधामा स्पर्धा गर्नेछन् ।
