
धादिङ । नेपाली कांग्रेस जिल्ला कार्यसमिति धादिङले पार्टीको १५औँ महाधिवेशनअन्तर्गत जिल्लामा हुने विभिन्न तहका अधिवेशनको कार्यतालिका सार्वजनिक गरेको छ ।
जिल्ला सभापति रामनाथ अधिकारीको अध्यक्षतामा बसेको जिल्ला कार्यसमिति बैठकले केन्द्रीय निर्वाचन प्रतिनिधि विश्वास आचार्यसँगको परामर्शमा धादिङमा हुने अधिवेशनहरूको कार्यतालिका तय गरेको हो ।
निर्णयअनुसार वडा अधिवेशन असोज ५ गते, गाउँपालिका तथा नगरपालिका अधिवेशन असोज ७ गते र प्रदेश सभा क्षेत्रीय तथा प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन असोज १० गते हुने भएको छ ।
यसअघि नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत वडा अधिवेशनमा क्षेत्रीय प्रतिनिधि छनोटको ढाँचा तथा विभिन्न तहमा उम्मेदवारी दिँदा बुझाउनुपर्ने मनोनयन शुल्कसम्बन्धी मापदण्डसमेत सार्वजनिक गरिएको थियो ।
कांग्रेसको वडा अधिवेशनबाट क्षेत्रीय प्रतिनिधि छनोट हुने व्यवस्था रहेको छ । क्षेत्रीय प्रतिनिधि तथा विभिन्न तहका पदमा उम्मेदवारी दिँदा लाग्ने मनोनयन शुल्कसम्बन्धी व्यवस्था पनि पार्टीले तय गरेको छ ।
धादिङमा सार्वजनिक गरिएको नयाँ कार्यतालिकाअनुसार अब वडा, स्थानीय तह तथा प्रदेश सभा र प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन क्रमशः सम्पन्न हुनेछन् ।
जिल्ला कार्यसमितिले निर्धारित कार्यतालिकाअनुसार सम्बन्धित तहका अधिवेशन सम्पन्न गरिने जनाएको छ ।
