प्रदेशका लागि फागुन २० सम्म जिल्लाले टिम छनोट गर्नुपर्ने, छनोट गर्न ८ लाख आउने

Avatar photo
Dhadingpost
फाल्गुन ३, २०७८

धादिङ । बागमती प्रदेश स्तरीय विभिन्न ८ विधाका खेलकुद प्रतियोगिताको लागि जिल्ला स्तरीय छनोटका लागि प्रदेश सरकारले ८ लाख दिने र फागुन २० गते भित्रमा सबै विधामा टिम छनोट गरि सक्न प्रदेश खेलकुद परिषदले अव्हान गरेको छ ।

बागमती प्रदेश अन्तरगतका जिल्ला खेलकुद विकास समितिहरुलाई पत्रचार गर्दै परिषदले फागुन २० गते भित्रमा सबै विधाको जिल्ला स्तरीय ठिम छनोट गर्न पत्रचार गरेको हो । परिषदले पत्रमा भनेको छ, पहिलो किस्तामा ५ लाख, दोस्रो किस्तामा ३ लाख गरि जिल्ला छनोटको लागि पठाईने छ ।

धादिङ जिल्लाका सबै स्थानीय तहले जिल्ला स्तरीय छनोट प्रतियोगिताको लागि टिम सिफरिस गरि सकेपनि जिल्ला खेलकुद विकास समितिले जिल्ला छनोट कहिले गर्ने भन्ने टुङ्गो अहिले सम्म लगाएको छैन ।

प्रदेश खेलकुद विकास परिषद बागमती प्रदेशले गर्न लागेको ८ विधाका खेलहरुमा फुटबल, एथलेटिक्स म्याराथुन, बक्सिङ, तेक्वान्दो, कराँते, भलिबल, ब्याडसमण्टन र क्रिकेट रहेका छन् । क्रिकेट प्रतियोगितामा पुरुष मात्रै भाग लिन पाउने छन् भने अन्य सबै विधाका खेलहरु महिला पुरुष दुईको टिम रहने बताईएको छ ।

प्रदेश खेलकुद बिकास परिषद्को बिनियोजित २ करोड र थप प्रदेश सरकारबाट ४ करोड ५४ लाख गरि ६ करोड ५४ लाखको कुल लागत परिषदले यी खेलहरुको प्रतियोगिता गर्न लागेको हो । प्रतियोगिताको लागि स्थानीय तहले प्रतियोगिता वा छनोटमार्फत टिम तयार गरि जिल्ला प्रतियोगिताको लागि सहभागी हुन पठाउनु पर्नेछ । प्रत्येक जिल्लाले जिल्ला प्रतियोगिताको लागि ८ लाखको दरले अनुदान प्राप्त गर्नेछन् ।