
धादिङ । ज्वालामुखी गाउँपालिकाका युवालाई खेलकुदमार्फत जोड्ने तथा खेलमैदान निर्माणका लागि सहयोग जुटाउने उद्देश्यले काठमाडौंमा प्रथम ज्वालामुखी गाउँपालिका स्तरीय 7A Side Futsal प्रतियोगिता–२०८३ आयोजना हुने भएको छ ।
खरी अन्नपूर्ण क्लबको आयोजनामा आगामी असोज १७ गते शनिबार देखि प्रतियोगिता हुने भएको हो । प्रतियोगितामा ज्वालामुखी गाउँपालिकाभित्रका आधिकारिक परिचय खुल्ने खेलाडीले मात्र सहभागिता जनाउन पाउने आयोजकले जनाएको छ ।
प्रतियोगिताको प्रथम पुरस्कारका लागि बेगबहादुर अधिकारी (हाल बेलायत) ले प्रायोजन गरेका छन् भने द्वितीय पुरस्कारका लागि रामबाबु अधिकारी (हाल अमेरिका) ले ३० हजार रुपैयाँ सहयोग गरेका छन् ।
त्यस्तै, शिव तिमल्सिना र सावित्री तिमल्सिनाले १५ हजार, शिव अधिकारीले १० हजार तथा इश्वर अधिकारी (हाल जापान), विष्णु तिमल्सिना, विष्णु सुनार र फणिन्द्र अधिकारीले जनही ५ हजार रुपैयाँ सहयोग गरेका छन् ।
प्रतियोगितामा प्रथम हुने टोलीले ६० हजार रुपैयाँ र द्वितीय हुने टोलीले ३० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ । उत्कृष्ट खेलाडी र उत्कृष्ट गोलकिपरलाई ट्रफी प्रदान गरिने आयोजकले जनाएको छ ।
प्रतियोगिताको टिम दर्ता शुल्क ७ हजार रुपैयाँ तोकिएको छ । यस प्रतियोगिताको लागि सहयोग गरि खेलाडीको मनोबल बढाउन तथा खेल मैदान निर्माण र बाढीपीडितको सहयोगमा हातेमाले गर्न क्लवले आब्हान गरेको छ ।
खेलसँगै बाढीपीडितलाई सहयोग
प्रतियोगितालाई खेलकुदमा मात्र सीमित नराखी सामाजिक उत्तरदायित्वसँग जोड्ने प्रयाससमेत गरिएको छ । प्रतियोगितामा हुने प्रत्येक गोलबापत २०० रुपैयाँका दरले रकम नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने आयोजकको लक्ष्य छ । उक्त रकम किसान अधिकारीले ब्लवलाई उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन् ।
हालै भोटेकोशीमा आएको बाढीका कारण धादिङलगायतका क्षेत्रमा ठूलो जनधनको क्षति भएको भन्दै खेलकुदको माध्यमबाट पनि बाढीपीडितलाई सहयोग पुर्याउने उद्देश्यले यस्तो व्यवस्था गरिएको क्लबका अध्यक्ष दिनेश अधिकारीले बताए ।
“हामी क्लवका साथीहरूले व्यक्तिगत रूपमा बाढीपीडितलाई सहयोग गरिसकेका छौँ । तथापि यस प्रतियोगितामार्फत क्लवलाई समेत उक्त अभियानमा जोड्न प्रत्येक गोल बराबर २०० रुपैयाँ प्रधानमन्त्री उद्धार तथा राहत कोषमा जम्मा गर्ने लक्ष्य राखेका छौँ,” अधिकारीले भने ।
खेलमैदान निर्माणका लागि पनि सहयोग जुटाउँदै क्लब
खरी अन्नपूर्ण क्लबले खेलमैदान निर्माणका लागि स्थानीय स्तरमा सहयोग संकलन गर्दै आएको जनाएको छ । क्लबले खरीस्थित छापथोकमा चन्दा संकलन गरी करिब ७ लाख रुपैयाँ जुटाएर जग्गा खरिद गरेको र खेलमैदानका लागि जग्गा सम्याउने कामसमेत गरेको अध्यक्ष अधिकारीले बताए ।
क्लबले खेलमैदान निर्माणका लागि प्रदेश सरकारसँग बजेट माग गरेको थियो । सो क्रममा भवन निर्माणका लागि १५ लाख रुपैयाँ बजेट प्राप्त भए पनि भवन अझै अपूरो रहेको क्लबले जनाएको छ ।
खेलमैदान निर्माण र अपूरो भवनलाई पूर्णता दिन अझै ठूलो रकम आवश्यक रहेकाले सहयोग जुटाउने उद्देश्यले समेत फुटसल प्रतियोगिता आयोजना गरिएको अधिकारीले बताए ।
“खेलमैदान बनाउन र अपूरो भवनलाई पूर्णता दिन अझै ठूलो रकम आवश्यक छ । त्यसैमा सहयोग जुटाउने उद्देश्यले प्रतियोगिता आयोजना गरेका हौँ,” उनले भने ।
क्लबले प्रतियोगितालाई ज्वालामुखी गाउँपालिकाका युवाबीच आपसी सद्भाव, सहकार्य र भाइचाराको भावना बढाउने अवसरका रूपमा समेत लिएको छ ।
आयोजकले प्रतियोगितालाई सफल बनाउन ज्वालामुखीवासी, खेलप्रेमी, व्यवसायी, संघसंस्था तथा शुभेच्छुकहरूलाई सहभागिता, प्रायोजन, विज्ञापन तथा सहयोगका लागि आग्रह गरेको छ ।
प्रतियोगिताको सहयोग तथा प्रायोजनका लागि क्लबले अनलाइनमार्फत समेत सहयोग संकलन गरिरहेको जनाएको छ । थप जानकारी तथा टिम दर्ताका लागि दिनेश अधिकारी ९८५१२४१५९५, भरत ९८४१३५२६७५ र सुरज ९८०२३९८९८१ मा सम्पर्क गर्न सकिनेछ ।
