
धादिङ । जिल्ला खेलकुद विकास समिति धादिङले ८ वटा विधामा हुने प्रदेश स्तरीय प्रतियोगिताको लागि जिल्लाबाट खेलाडी पठाउनु पर्ने भएको भन्दै जिल्लाका १३ वटै स्थानीय तहहरुलाई मंसिर ६ गते पत्रचार गरि मंसिर २५ गते भित्रमा जिल्ला छनोटको लागि खेलाडी पठाउन भनेको थियो ।
यहि पत्र अनुसार धादिङका १३ वटै स्थानीय तहले विभिन्न खेल विधाका खेलाडी छनोट गरी जिल्ला खेलकुद विकास समितिलाई खेलाडी विवरण पठाएका छन् ।
कराँतेको महिला बाहेक सबै खेल विधामा नीलकण्ठ नगरपालिकाले खेलाडी छनोट गरि पठाएको छ भने गंगाजमुना गाउँपालिकाले भलिबल विधामा मात्रै खेलाडी छनोट गरि पठाएको जिल्ला खेलकुद विकास समिति धादिङका अध्यक्ष प्रतापसिंह तामाङले धादिङपोष्टलाई बताए ।
अध्यक्ष तामाङले अब केहि दिन भित्रमा जिल्ला स्तरीय छनोट प्रतियोगिता हुने र छनोट भएका खेलाडीहरुले प्रदेश स्तरीय प्रयोगिता खेल्ने बताए । जिल्ला छनोट भएका खेलाडीहरुलाई खेल अवधिभरको भत्ता प्रदेश खेलकुद विकास परिषदले प्रदान गर्नेछ ।

प्रदेश खेलकुद विकास परिषद बागमती प्रदेशले गर्न लागेको ८ विधाका खेलहरुमा फुटबल, एथलेटिक्स म्याराथुन, बक्सिङ, तेक्वान्दो, कराँते, भलिबल, ब्याडसमण्टन र क्रिकेट रहेका छन् । क्रिकेट प्रतियोगितामा पुरुष मात्रै भाग लिन पाउने छन् भने अन्य सबै विधाका खेलहरु महिला पुरुष दुईको टिम रहने बताईएको छ ।
प्रदेश खेलकुद बिकास परिषद्को बिनियोजित २ करोड र थप प्रदेश सरकारबाट ४ करोड ५४ लाख गरि ६ करोड ५४ लाखको कुल लागत परिषदले यी खेलहरुको प्रतियोगिता गर्न लागेको हो । प्रतियोगिताको लागि स्थानीय तहले प्रतियोगिता वा छनोटमार्फत टिम तयार गरि जिल्ला प्रतियोगिताको लागि सहभागी हुन पठाउनु पर्नेछ ।
प्रत्येक जिल्लाले जिल्ला प्रतियोगिताको लागि ८ लाखको दरले अनुदान प्राप्त गर्नेछन् तर स्थानीय तहले भने आफ्नै खर्चमा खेलाडी छनोट गर्नु पर्ने परषदले जनाएको छ । एक महिना सम्म चल्ने यस प्रतियोगिता प्रदेशका १३ वटै जिल्लालाई समेट्ने गरि भनिएको छ ।