बेनीघाट रोराङद्वारा २६ विद्यालयका विद्यार्थीलाई ट्रयाकसुट, जुत्ता र मोजा वितरण

Avatar photo
Dhadingpost
मंसिर २८, २०७८

धादिङ । धादिङको बेनीघाट रोराङ गाउँपालिकाले ‘अध्यक्षसंग बालबालिकाको न्यानो माया कार्यक्रम’ लागु गर्दै २६ वटा आधारभुत विद्यालयका विद्यार्थीहरुलाई ट्रयाकसुट, जुत्ता र मोजा वितरण गरेको छ ।

धादिङको सुगम देखि अति दुर्गमको भुभाग सम्म फैलिएको यस गाउँपालिकामा ७४ वटा विद्यालयहरु छन् । जसमा २६ वटा विद्यालयमा गाउँपालिकाले ‘अध्यक्षसंग बालबालिकाको न्यानो माया कार्यक्रम’ लागु गर्दै ट्रयाकसुट, जुत्ता र मोजा वितरण गरेको हो ।

आर्थिक वर्ष २०७८-७९ को बजेट तथा कार्यक्रम अनुसार अध्यक्षसंग बालबालिकाको न्यानो माया कार्यक्रम संचालन गरि गाउँपालिका भित्रका सबै आधारभुत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई ट्रयाकसुट, जुत्ता र मोजा वितरण गरिएको शिक्षा अधिकृत बोधराज पाठकले बताए ।

धादिङपोष्टले चेपाङ बालबालिका खाली खुट्टाले स्कुल जान्छन् पोशाक र स्टेशनरी सामाग्री समेत अभाव भनेर मंसिर १४ गते समाचार प्रकाशित गरे सँगै गाउँपालिकाले अध्यक्षसंग बालबालिकाको न्यानो माया कार्यक्रम लागु गर्दै आधारभुत तहका सबै १५ सय ६ जना विद्यार्थीलाई ट्रयाकसुट, जुत्ता र मोजा वितरण सुरु गरेको थियो ।