
धादिङ । भदौ १० गते भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीबाट प्याब्सन धादिङअन्तर्गतका सदस्य विद्यालयमा आबद्ध २४२ परिवार प्रभावित भएको तथ्यांक सार्वजनिक भएको छ ।
प्याब्सन धादिङका अध्यक्ष दिनेश भट्टका अनुसार बाढीबाट प्रभावित परिवारमध्ये ३५ जना विद्यार्थीले अभिभावक गुमाएका छन् । त्यस्तै, १४२ परिवारका घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् ।
बाढीको पानी तथा हिलो घरभित्र पस्दा थप ६५ परिवारका घरमा रहेका किताब, कापी, कपडा लगायतका सामग्रीमा क्षति पुगेको अध्यक्ष भट्टले बताए ।
बाढीबाट प्रभावित परिवारको विवरण संकलन गर्ने क्रममा प्याब्सन धादिङले आफ्ना सदस्य विद्यालयमा अध्ययनरत विद्यार्थी तथा उनीहरूका परिवारमा परेको क्षतिको तथ्यांक संकलन गरेको हो ।
प्याब्सन धादिङमा हाल २९ वटा निजी विद्यालय आबद्ध रहेका छन् । जिल्लाको शैक्षिक क्षेत्रमा निजी विद्यालयको महत्वपूर्ण योगदान रहेको उल्लेख गर्दै प्याब्सन धादिङले बाढीबाट प्रभावित विद्यार्थी तथा परिवारको अवस्थाप्रति चासो व्यक्त गरेको छ । तस्वीरः सामाजिक संजाल
