
धादिङ मंसिर २५ । धादिङ जिल्लाको सदरमुकाम धादिङबेसीमा राष्ट्रिय प्रजातन्त्र पार्टीले राजसंस्था सहितको प्रजातन्त्र, हिन्दू राष्ट्र एवम् सुदृढ स्थानिय स्वायत्त शासनको माग गर्दै प्रदर्शन गरेको छ ।

धादिङबेसीमा पुछारबजारबाट निस्केको बाजागाजा सहितको प्लेकार्ड बोकेको जुलुस सिरान बजार सम्म पुगेको थियो । उक्त जुलुसको नेतृत्व राप्रपाका केन्द्रिय सदस्य एवम् पूर्व पर्यटन राज्यमन्त्री परशुराम तामाङले गर्नुभएको थियो ।

धादिङबेसीमा भएको उक्त प्रदर्शनको नेतृत्व पार्टीका वरिष्ठ उपध्यक्ष बुद्धिमान तामाङले गर्ने निर्धारित कार्यक्रम भएपनि उहाँ अस्वस्थ भए पछि जुलुको नेतृत्व पूर्वमन्त्री परशुराम तामाङले गर्नु भएको राप्रपा धादिङले जनाएको छ ।

जिल्ला भरिबाट प्रदर्शनमा सहभागि सयौं राप्रपा कार्यकर्ताहरुले धर्म निरपेक्षता खारेज गर, भ्रष्टचारी सरकार मुर्दावाद, १०० राजा पाल्नु भन्दा एउटै राजा पाल्नु बेश जस्ता नारा लगाएका थिए ।

प्रदर्शन सुरु हुनु अघि पुछारबजार स्थित पार्टी कार्यलयमा, पाटी एकता पछिको झण्डा र पार्टीको चुनाव चिन्ह पूर्व मन्त्री परशुराम तामाङ र केन्द्रीय सदस्य भगवती घलेले सार्वजनिक गर्नुभएको थियो । उक्त कार्यक्रममा बोल्दै केन्द्रिय सदस्य एवम् पूर्व मन्त्री तामाङले राजसंस्था सहितको प्रजातन्त्र, हिन्दू राष्ट्र एवम् सुदृढ स्थानिय स्वायत्त शासन अहिलेको आवस्यकता रहेको बताउनु भएको थियो ।

देशभर जनता जागेका छन् । भ्रष्ट्र सरकार कानमा तेल हालेर बसेको छ । जनप्रदर्शनलाई ख्याल ख्याल सोचे ठुलो मुल्य चुकाउनु पर्ने उद्घोष गर्दै जनताको आवाज कम्युनिष्ट सर्वसत्तावादको विरुद्ध रहेको बताउनु भएको थियो ।


