
धादिङ मंसिर १३ । नीलकण्ठ नगरपालिकाका मेयर भिम प्रसाद ढुङ्गानाले २ दिनमा ४ वटा खानेपानी आयोजनाको शिलान्यास गर्नु भएको छ ।
बिहिबार मात्रै नम्बर १ को ठाँटी खोला लिफ्टिङ खानेपानी आयोजना र वडा नम्बर २ को झ्यापुङ खोला लिफ्टिङ खानेपानी ओयोजनाको शिलान्यास गर्नु भएको नगर प्रमुख ढुङ्गानाले शुक्रबार वडा नम्बर ५ को फ्याक्से खानेपानी आयोजना र वडा नम्बर ४ को रिजालथोक खानेपानी आयोजना शिलान्यास गर्नु भएको हो ।
वडा नम्बर १ काउलेमा निर्माण हुन लागेको ठाँटी खोला लिफ्टिङ खानेपानी आयोजनाबाट १ सय १८ घरधुरी लाभान्वित हुने छन् भने यसको लागत ८८ लाख ५२ हजार २ सय ८ रुपैया लाग्ने बताईएको छ ।
- वडा नं. १ को ठाँटी खोला लिफ्टिङ खानेपानी आयोजना- ८८ लाख ५२ हजार २ सय ८ रुपैया
- वडा नं. २ को झ्यापुङ खोला खानेपानी ओयोजना- ७४ लाख ७२ हजार २ सय ५५ रुपैँया
- वडा नं. ५ फ्याक्से खानेपानी ओयोजना- ६० लाख ९६ हजार ४ सय ९९ रुपैया
- वडा नं. ४ रिजालथोकमा खानेपानी ओयोजना-१ करोड २२ लाख ६० हजार ६ सय ६९ रुपैँया
यस्तै वडा नम्बर २ भुलभुलेमा निर्माण हुन लागेको खानेपानी आयोजनाबाट ७२ घरधुरीका नागरिकहरु लाभान्वित हुने भएका छन् । यसको लागत ७४ लाख ७२ हजार २ सय ५५ रुपैँया रहेको नगर प्रमुख ढुङ्गानाले धादिङपोष्टलाई बताउनु भयो ।
यसैगरी शुक्रबार नम्बर ५ फ्याक्सेमा शिलान्यास गरिएको खानेपानी आयोजनाबाट १ सय २५ घरधुरी लाभान्वित हुने छन । यसको लागत ६० लाख ९६ हजार ४ सय ९९ रुपैया रहेको छ भने वडा नम्बर ४ मा निर्माण हुन लागेको रिजालथोक खानेपानी आयोजनाबाट ८७ घरधुरीका नागरिकहरु लाभान्वित हुने छन् । यसको लागत १ करोड २२ लाख ६० हजार ६ सय ६९ रुपैँया रहेको नगरपालिकाले जनाएको छ ।
