धादिङ मंसिर १२ । धादिङको नीलकण्ठ नगरपालिकाका प्रमुख भिम प्रसाद ढुङगानाले एकै दिन २ वटा खानेपानी आयोजनाहरु ठाँटी खोला र झ्यापुङ खोला लिफ्टिङ खानेपानी परिआयोजनाको छुट्टा छुट्टै कार्यक्रम गरि शिलान्यास गर्नु भएको छ ।
प्रमुख ढुङ्गानाले बिहिबार वडा नम्बर १ को ठाँटी खोला लिफ्टिङ खानेपानी परियोजना र वडा नम्बर २ को झ्यापुङ खोला लिफ्टिङ खानेपानी परियोजनाको शिलान्यास गर्नु भएको हो ।
नीलकण्ठ नगरपालिका, सर्भिस फर पिस र कोईकाको संयुक्त साझेदारीमा निर्माण हुने उक्त खानेपानी परियोजना आगामी बैशाखा भित्रमा सम्पन्न गर्ने लक्ष्य राखीएको नगर प्रमुख ढुङ्गानाले शिलान्यास कार्यक्रममा बताउनु भएको थियो ।
खानेपानीको चरम समस्या झेल्दै आएका वडा नम्बर १ को काउले र वडा नम्बर २ को भुलभुलेका नागरिकहरु खानेपानी आउनेभएपछि खुशी भएका छन् । वडा नम्बर १ काउलेमा निर्माण हुन लागेको खानेपानी आयोजनाबाट १ सय १८ घरधुरी लाभान्वित हुने भएका छन् ।
नीलकण्ठ नगरपालिका र सर्भिस फर पिसको १ लख ३ हजार ५ सय ३७ र समुदायको श्रमदान ७ लाख २ हजार ६ सय ७० रुपैया गरी कुल ८८ लाख ५२ हजार २ सय ८ रुपैयाको लागतमा ठाँटी खोला लिफ्टिङ खानेपानी परियोजना सम्पन्न गर्न लागिएको हो ।
यसैगरी वडा नम्बर २ भुलभुलेमा निर्माण हुन लागेको खानेपानी आयोजनाबाट ७२ घरधुरीका नागरिकहरु लाभान्वित हुने भएका छन् । नीलकण्ठ नगरपालिका र सर्भिस फर पिसको ६६ लाख ६६ हजार ५ स य ५५, समुदायको श्रमदान ८ लाख ५ हजार ६ सय ९९ गरी कुल ७४ लाख ७२ हजार २ सय ५५ रुपैँयाको लागतमा निर्माण हुने बताईएको छ ।