काठमाडौं, भदौ ३ । इण्डोनेशियामा शनिबारदेखि सुरु भएको १८ औँ संस्करणको एसियाली खेलकुद प्रतियोगितामा नेपालले आज नौ खेलमा प्रतिस्पर्धा गर्दै छ ।
इण्डोनेशियाको जाकार्ता र पालेमबाङमा जारी प्रतियोगिताको दोस्रो दिन आज नेपालले तेक्वान्दो, कुस्ती, फुटबल, ब्याडमिन्टन, उसु, लनटेनिस, कबड्डी, सुटिङ र सेपाकताक्रोमा प्रतिस्पर्धा गर्न लागेको राष्ट्रिय खेलकुद परिषद् ९राखेप० ले जनाएको छ ।
नेपालले आजै ब्याडमिन्टनको महिला तथा पुरुष टिम इभेन्ट्समा आफ्नो पहिलो खेल पाकिस्तानसँग खेल्दै छ । ब्याडमिन्टनको टिम इभेन्ट्समा पुरुषतर्फ नेपालका विकास श्रेष्ठ, रत्नजित तामाङ, नवीन श्रेष्ठ र दीपेश धामीले प्रतिस्पर्धा गर्दै छन् ।
महिला टिम इभेन्ट्समा पनि नेपालले आजै पहिलो खेल माल्दिभ्ससँग खेल्दै छ । मल्भ्दिसविरुद्ध खेल्ने नेपाली खेलाडीमा नङ्सलदेवी तामाङ, अमिता गिरी, जेशिका गुरुङ र रसिला महर्जन छन् । नेपालले कबड्डीमा आयोजक इण्डोनेशियासँग प्रतिस्पर्धा गर्दै छ ।
यही भदौ १७ गतेसम्म हुने एसियन गेम्समा ४५ देशका ११ हजार पाँच खेलाडीले विभिन्न स्पर्धामा सहभागिता जनाएका छन् । प्रतियोगितामा ४० खेल सहभागी छन् । ४० मध्ये नेपालले २९ खेलमा प्रतिपर्धा गरिरहेको छ ।
फुटबलमा नेपाल सुरुआती दुई खेलमा पराजित भएसँगै समूह चरणबाटै बाहिरिने लगभग निश्चित छ । समूह चरणको अन्तिम खेलमा आज पाकिस्तानसँग वेस्ट जाभास्थित सहिद चन्द्रभागा रङ्गशालामा प्रतिस्पर्धा गर्नेछ ।
नेपालले हालसम्म एसियाली खेलकुदमा खेलेका १७ खेलमा नै पराजय भोगेको छ । सत्र खेलमा ६८ गोल खाँदा केवल १ गोल गर्न सकेको छ ।
त्यस्तै, तेक्वान्दोमा कमल श्रेष्ठ र पार्वती गुरुङले चाइनिज ताइपेहका खेलाडीसँग प्रतिस्पर्धा गर्दै छन् । यस्तै महिला टिम इभेन्ट्सतर्फ उज्वेकिस्तानसँग खेल्नेछ ।
फेन्सिङ सावर इभेन्टमा कमला श्रेष्ठ र रवीना थापाले प्रतिस्पर्धा गर्दै छन् । पुल एमा रहेकी कमलाले जापान, मङ्गोलिया, हङकङ, चीन, इण्डोनेशिया र भियतनामकी खेलाडीसँग प्रतिष्पर्धा गर्दै छन् । रवीनाले दक्षिण कोरिया, कम्बोडिया र इरानकी खेलाडीसँग प्रतिस्पर्धा गर्नेछिन् ।
कुस्तीमा भागवत साह, सरोज यागद र सुरेश सुनारले प्रतिस्पर्धा गर्दै छन् । उसुको ५२ केजी तौल समूहअन्तर्गत जुनी राईले भियतनामका खेलाडीसँग र ६० केजी तौल समूहमा मंगलप्रसाद थारूले इण्डोनेशियाका खेलाडीसँग प्रतिस्पर्धा गर्दै छन् ।
