काठमाडौँ, साउन ३१ । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी भदौ १ गतेदेखि लागू गरिने मुलुकी देवानी र अपराध संहिता सम्बन्धमा भ्रमपूर्ण प्रचार नगर्न आग्रह गनुभएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रीय कार्यालय ध्रम्रबाराहीमा आज आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले भने, ‘मुलुकी देवानी र मुलुकी अपराध संहिता लागू गर्ने कुरामा निकै भ्रमपूर्ण हल्ला चलाइएको छ, तर यो त पोहोर साल नै व्यापक छलफल गरेर संसद्ले पारित गरेको कानून हो ।
उनले अस्पतालमा उपचार गर्दा बिरामीको मृत्यु भएमा चिकित्सकलाई जन्मकैद हुने भन्ने हल्ला र भ्रम फिँजाउने काम नगर्न पनि आग्रह गरे ।
प्रधानमन्त्री ओलीले नेपाली काँग्रेसका नेता गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईले समेत पार्टीमा टिक्न नसकेको उदाहरण दिँदै नवप्रवेशी कार्यकर्ताले नेकपामा प्रवेश गरेर सही निर्णय लिएको बताए । सो अवसरमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकार समृद्ध नेपाल र खुशी नेपाली बनाउने अभियानअनुसार विकास र समृृद्धिको उद्देश्यअनुरुप काम गरिरहेको बताए ।
प्रधानमन्त्री ओलीले नयाँ कानून आउँदा केही–केही व्यवस्था नयाँ हुने हुँदा अभ्यासमा केही समय लाग्ने बताउँदै जनतालाई नकारात्मक असर पर्ने खालको कुनै पनि व्यवस्था संहितामा नभएको स्पष्ट पारे । सरकारले संविधान र कानूनको परिधिभित्र रहेर विकास निर्माण गर्ने, गरीबको जीवनस्तर उकास्ने, सामाजिक सुरक्षामा ध्यान दिने, शान्ति कायम गर्ने तथा राष्ट्रिय एकता कायम गर्ने तरिकाले काम गरिहेको बताउँदै आफ्नो स्वार्थका नाममा देशमा बितण्डा मच्चाउने खालका गतिविधि सञ्चालन नगर्न सबैमा आग्रह गरे ।
प्रधानमन्त्री ओलीले भने, ‘सरकार अल्मलिएको छैन, देश अल्मलिएको छैन, जनता र युवाशक्ति अल्मलिएका छैनन्, अल्मलियो कि भन्ने पीर प्रतिपक्षलाई लागेको छ, तर सरकारले राष्ट्र र जनताको हितका लागि निरन्तर काम गरेको छ ।
पार्टीमा प्रवेश गर्ने कार्यकर्तालाई स्वागत गर्दै अध्यक्ष ओलीले नवप्रवेशीबाट पार्टीलाई नयाँ उचाइमा पुर्याउन थप बल पुग्ने उल्लेख गरे । उनले भने, ‘उड्दाखेरि मौरीका साथ लागेर उड्यो भने फूलको थुँगामा पुगिन्छ, झिँगाको साथमा लागेर उडियो भने फोहोर डुङ्गुरमा पुगिन्छ, तपाईंहरु उडान भर्नका लागि मौरीको साथमा लाग्नुभएको छ, फूलकै थुङ्गामा पुगिने ।’ उनले नवप्रवेशीहरु जुन उत्साह र विश्वासका साथ प्रवेश गर्नुभएको छ, त्यसअनुरुप पार्टीले जिम्मेवारी दिने उनले बताए ।

