प्रधानमन्त्री ओली र उहाँकी धर्मपत्नी चिन जाने तयारी

Avatar photo
Dhadingpost
जेष्ठ ३१, २०७५

काठमाडौँ, जेठ, ३१ । प्रधानमन्त्री केपी शर्मा ओली र उहाँकी धर्मपत्नी चीनको राज्य परिषद्का प्रधानमन्त्री ली खछ्याङको निमन्त्रणामा आगामी असार ५ गते चीनको औपचारिक भ्रमण गर्नुहुने भएको छ ।

भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले आफ्ना चिनियाँ समकक्षी लीसँग प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता गर्नुहुनेछ । परराष्ट्र मन्त्रालयका अनुसार उहाँले चीनका वरिष्ठ नेताहरुसँग भेटवार्ता गर्नुहुनेछ । प्रधानमन्त्रीले नेपाल–चीन व्यापारिक मञ्च तथा विद्वत समूहलाई बेइजिङमा सम्बोधन गर्नुहुनेछ ।

भ्रमणकै सिलसिलामा केही सहमति र समझदारीपत्रमा हस्ताक्षर हुनेछ । प्रधानमन्त्री ओलीले चीनको स्वशासित क्षेत्र तिब्बतको राजधानी ल्हासाको पनि भ्रमण गर्नुहुनेछ । त्यहाँ उहाँले तिब्बतका प्रान्तीय नेताहरुसँग भेटवार्ता गर्नुहुनेछ ।

प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डल असार १० गते आइतबार स्वदेश फर्कनेछ ।

प्रधानमन्त्रीको भ्रमण दलमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन ‘अनन्त’, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, सांसदहरु, नेपाल सरकारका उच्च अधिकारी, निजी क्षेत्रका प्रतिनिधि र सञ्चारकर्मी सहभागी हुनेछन् ।