नारायणगढ–मुग्लिन सडकखण्ड बिस्तार भएसँगै सौराहामा पर्यटकहरुको चहलपहल

Avatar photo
Dhadingpost
जेष्ठ ३१, २०७५

चितवन, जेठ ३१ । नारायणगढ–मुग्लिन सडकखण्ड बिस्तार भएसँगै चितवनको सौराहामा पर्यटकहरुको चहलपहल बढन थालेको छ ।

अहिले वर्षाको समयलाई ‘अफ सिजन’ मान्ने गरिएपनि सौराहामा पर्यटकहरुको चहल पहल भने बाक्लिएको छ ।

असहज हुँदा व्यवसायीहरु समस्यामा परेका थिए । अहिले सडकखण्ड एक घण्टाभन्दा पनि कम समयमा सहजै पार गर्न सकिने भएपछि पर्यटकहरु बिस्तारै बढ्न थालेका छन् ।

अब दशैं तिहार लगत्तै पर्यटकहरु सौराहामा बढ्ने आशा व्यवसायीहरुले गरेका छन् । अहिले बढ्दो गर्मी र वर्षाका कारण पर्यटकहरु त्यति आउँदैनन् । आउने सेप्टेम्बरदेखि सौराहामा पर्यटकहरु उल्लेख्य मात्रामा आउने विश्वास व्यवसायीको छ । ‘नारायणगढ–मुग्लिन सडकखण्ड सहज हुनु जिल्लाकै पर्यटन र होटल व्यवसायका लागि सकारात्मक सन्देश हो, हामी आशावादी छौं,’ क्षेत्रिय होटल संघ नेपाल सौराहाका अध्यक्ष घिमिरले भने, ‘चितवनको पर्यटनमा आन्तरिक पर्यटकहरुको नै भूमिका महत्वपूर्ण छ, अब पर्यटकहरुको चहलपहल बढ्छ ।’

पर्यटकलाई सौराहा भित्राउन यहाँका व्यवसायीहरुले विगतमा वैकल्पिक उपाय के हुन सक्छ भन्ने बारेमा समेत प्रयास नगरेका होइनन् । तर पनि भरपर्दो माध्यम नहुँदा व्यवसायी खुम्चिन बाध्य भएका थिए । तर अब सहज अवस्था आएको उनीहरु बताउँछन् ।

विगतमा भूकम्प, नाकावन्दी, बाढी डुबान एवम् नारायणगढ–मुग्लिन सडकखण्डको कारण धरापमा परेको यहाँको पर्यटन व्यवसाय अब सुध्रिने दिशामा गएको भन्दै व्यवसायीहरु उत्साही भएको सौराहाका होटल व्यवसायी रामप्रसाद रिजालले बताए ।