
काठमाडौं, जेठ २४ । राष्ट्रिय सतर्कता केन्द्रले करिब १ हजार ७ सय निजामती कर्मचारीलाई विभागीय कारबाही गर्न सिफारिस गरेको छ ।
केन्द्रले गत साउनदेखि जेठ २२ सम्म देशभर ९ सय २१ सरकारी कार्यालयमा छड्के गरेको थियो । सो मध्ये १ हजार ६ सय ८५ कर्मचारीलाई कारबाहीको सिफारिश गरेको छ ।
केन्द्रका प्रवक्ता विष्णुराज लामिछानेले गत साउनदेखि जेठ २२ सम्म केन्द्रले गरेको सिफारिसमा १ हजार ६ सय ८५ कर्मचारीलाई कारबाहीको सिफारिस गरिएको बताए । केन्द्रका अर्का एक उच्च कर्मचारी भन्छन्, ‘यती ठूलो संख्यामा कारबाहीको सिफारिस गरिनुको अर्थ निजामती कर्मचारीमा अनुशासनहीनता बढ्दै गएको संकेत हो ।’ मुलुक संघीय प्रणालीमा गए पनि निजामती कर्मचारीको काम गर्ने शैलीमा कुनै परिवर्तन नभएको उनले बताए ।
यसैगरी सूचना तथा सञ्चार मन्त्रालयमा ९, वन तथा वातावरण मन्त्रालयमा १२ र मुद्रण विभागमा २५ कर्मचारी कारबाहीको सिफारिसमा परेका छन् । केन्द्रका प्रवक्ता लामिछानेले सिहंदरबारमै कर्मचारी कार्यालय समयभित्र कार्यालयमा नआउने समस्या देखिएको बताए । ती कर्मचारीलाई विभागीय कारबाहीका लागि सिफारिस गरिएको पनि उनले बताए ।
यसैगरी सतर्कता केन्द्रका कर्मचारी केही दिनअघि परिक्षा नियन्त्रण कार्यालय सानो ठिमीमा पुग्दा ३९ कर्मचारी कार्यालयमा समयभित्र कार्यालयमा पुगेका र ८ कर्मचारी अनुपस्थित रहेको केन्द्रले तयार गरेको रिर्पोटमा जनाइएको छ । यसैगरी पाठ्यक्रम विकास केन्द्र सानो ठिमीमा छड्के जाँच गर्दा ५० कर्मचारीमध्ये ८ कर्मचारी अनुपस्थित रहेको पाइएको थियो ।
प्रवक्ता लामिछानेले सतर्कता केन्द्रका कर्मचारीहरू केही सरकारी कार्यालयमा छड्के गर्न जाँदा कर्मचारी समयभित्र कार्यालयमा नपुग्ने गरेको समस्या देखिएको बताए । उनले भने, ‘हामीले केही सरकारी कार्यालयमा छड्के गर्न जाँदा केही सरकारी कार्यालयमा कर्मचारीले कार्यालय समयभित्र हाजिरी नगरको देखिएको छ ।’
कारबाहीको सिफारिस गरिएकामध्ये ५ सय ४२ कर्मचारी पोसाक नलगाएको र १ हजार १ सय ५३ कर्मचारी समयमा कार्यालयमा नगएको केन्द्रले जनाएको छ । केन्द्रले सम्बन्धित कार्यालयका कार्यालय प्रमुखलाई चिठी लेखेर सिफारिस गरिएका कर्मचारीलाई विभागीय कारबाही गर्न चिठी पठाएको हो ।
बिचौलिया रोक्न निर्देशन
राष्ट्रिय सतर्कता केन्द्रले जनताको काममा प्रत्यक्ष्य सरोकार राख्ने मालपोत, नापी र वैदेशिक रोजगार कार्यालयमा बिचौलीयाको गतिविधि रोक्न सम्बन्धित कार्यालयलाई कडा निर्देशन दिएको छ ।
सतर्कता केन्द्रका कर्मचारीसँग सम्बन्धित कार्यालयका प्रमुखले दलालको बिगबिगी आफूले राक्ने नसक्ने बताएको प्रतिवेदनमा जनाइएको छ । बिचौलिया हावी हुदा सरकारी कार्यलयमा सेवा प्रवाह कमजोर भएको केन्द्रका कर्मचारीहरूको भनाइ छ । जसबाट जनता विचौलियामा भर पर्नुपरेको सेवाग्राहीको गुनासो छ ।
सतर्कता केन्द्रले केही दिनअघि त्यस्ता कार्यलयमा छड्के गरी प्रधानमन्त्री कार्यालयलाई समेत रिर्पोट बुझाएको छ । सतर्कता केन्द्रका प्रवक्ता लामिछानेले सतर्कता केन्द्रले केही दिनअघि गरेको छड्केमा नापी, मालपोत, वैदेशिक रोजगार जस्ता कार्यालयम बिचौलीयाको बिगबिगी देखिएकाले बिचौलीयालाई सरकारी कार्यालयमा सहज प्रवेश नदिन सर्तकर्ता केन्द्रले ती कार्यालयलाई निर्देशन गरेको बताए । ‘सम्बन्धित कार्यालयका कार्यालय प्रमुखलाई चिठी पठाएर बिचौलीयाको गतिविधि रोक्न निर्देशन दिएका छौं,’ उनले भने ।
सतर्कता केन्द्रका कर्मचारीसँग सम्बन्धित कार्यालयका प्रमुखले दलालको बिगबिगी आफूले राक्ने नसक्ने बताएको प्रतिवेदनमा जनाइएको छ । बिचौलिया हावी हुदा सरकारी कार्यलयमा सेवा प्रवाह कमजोर भएको केन्द्रका कर्मचारीहरूको भनाइ छ । जसबाट जनता विचौलियामा भर पर्नुपरेको सेवाग्राहीको गुनासो छ ।
केन्द्रले कलंकी मालपोत कार्यालय, ताहाचलमा रहेको वैदेशिक रोजगार कार्यालय र चाबहिलमा रहेको नापी कार्यालाई छुट्टाछुट्टै चिठी पठाएर बिचौलीयाहरूलाई कार्यालयमा सहजै प्रवेश नदिन, कार्यालयको रेकर्ड हेर्न नदिन र कार्यालका ढड्डासमेत पल्टाउन नदिन निर्देशन दिएको हो ।
