
महोत्तरी, जेठ २४ । महोत्तरी जिल्लाको मटिहानी नगरपालिका हुँदै भारततर्फ तस्करी गर्न लागेको रु २४ लाखको सुनचाँदीसहित सशस्त्र प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।
गएराति करीब ८ बजेतिर बीआर ०७ एबी ४९१८ नम्बरको भारतीय नम्बर प्लेटको मोटरसाइकलमा लुकाइछिपाइ नेपालबाट भारत विहारको मधुबनी जिल्ला लैजाँदै गरेको अवस्थामा सुराकीको आधारमा सशस्त्र प्रहरी निरीक्षक उमेश आलेमगरको नेतृत्वमा खटिगएको सातजनाको सशस्त्र प्रहरीको टोलीले शंका लागी युवक ठाकुरलाई मटिहानी नगरपालिका–३ स्थित आवरचोकमा चेकजाँच गर्दा उनी सुन र चाँदीसहित पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा धनुषा जिल्लाको जनकपुर उपमहानगरपालिका– ४ विश्वकर्मा चोक बस्ने २४ वर्षीय दीपेन्द्र ठाकुर रहेको सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय, जलसागर, महोत्तरीका सशस्त्र प्रहरी उपरीक्षक मुरारी बस्नेतले बताए ।
युवक ठाकुरको साथबाट प्रहरीले रु २४ लाख मूल्य पर्ने २० किलो चाँदी र २०० ग्राम सुन बरामद गरेको सशस्त्र प्रहरी उपरीक्षक बस्नेतले बताए ।
त्यस्तै, युवकको साथबाट एक थान मोबाइल र मोटरसाइकलसमेत बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ । अवैध सुन र चाँदीसहित पक्राउ परेका युवक ठाकुरलाई सुन, चाँदीसहित आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान क्षेत्रीय कार्यालय, पथलैया पठाइएको सशस्त्र प्रहरी जिल्ला कार्यालयले जनाएको छ ।
