आठ हजार कर्मचारीले समायोजन रोजे

Avatar photo
Dhadingpost
जेष्ठ २३, २०७५

काठमाडौं, जेठ २३ । स्थानीय तहमा समायोजन हुन झनडै आठ हजार कर्मचारीले निवेदन दिएका छन्। हाल निजामती सेवामा ८६ हजार कर्मचारी छ ।

स्थानीय तहमा समायोजन हुन चाहने निजामती कर्मचारीबाट सरकारले निवेदन मागेपछि ८ हजार कर्मचारीले त्यसमा इच्छा देखाउँदै निवेदन दिएका हुन्। हाल निजामती सेवामा ८६ हजार कर्मचारी छन्।

स्थानीय तहमा समायोजन रोज्न अवसर दिए पनि पर्याप्त कर्मचारीले इच्छा नदेखाएपछि सरकारले आफैंले खटाउने भएको छ। प्रवक्ता अधिकारीले समायोजन रोजेका कर्मचारीलाई सम्भव भएसम्म रोजेको आधारमा समायोजन गर्ने र नरोजेकालाई सरकारले आवश्यकता अनुसार खटाउने बताए । सरकारले ७ सय ५३ वटै स्थानीय तहमा गरेको संगठन तथा व्यवस्थापन सर्वेक्षणअनुसार ५७ हजार ६ सय कर्मचारी चाहिन्छ। सरकारले प्रारम्भिक सर्वेक्षणअनुसार अहिले संघ, प्रदेश र स्थानीय तहमा गरी झन्डै १ लाख १७ हजार कर्मचारी आवश्यक छ। जसमध्ये स्थानीय तहमा ५७ हजार ६ सय, ७ वटा प्रदेशमा २१ हजार र बाँकी संघमा चाहिएको हो। स्थानीय तहमा कर्मचारी खटाउन सरकारले संगठन तथा व्यवस्थापन सर्वेक्षण गरी मापदण्डसमेत जारी गरिसकेको छ। प्रदेश र संघमा भने सर्वेक्षणको काम अघि बढिरहेको छ।

स्थानीय तहका लागि मन्त्रालयले जारी गरेको समायोजन मापदण्डअनुसार समायोजन सकभर वडा र दुर्गम स्थानीय तहबाट सुरु गर्ने, समायोजनमा ज्येष्ठता र स्थायी ठेगानालाई प्राथमिकता दिने, श्रीमानश्रीमती दुवै सरकारी जागिरे भए सम्भव भएसम्म एउटै स्थानीय तह र नभए नजिकनजिकका तहमा सरुवा गर्ने उल्लेख छ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले स्थानीय तहमा समायोजन हुन हालसम्म ८ हजार कर्मचारीको निवेदन आएको बताए।