धादिङ अस्पताललाई स्वास्थ्य सामग्री सहयोगार्थ जापानमा बीबीक्यू कार्यक्रम

Avatar photo
Dhadingpost
साउन ६, २०८३

टोकियो । जापानमा रहेका धादिङवासीहरूको साझा संस्था धादिङ समाज जापानले धादिङ अस्पतालका लागि स्वास्थ्य सामग्री सहयोग जुटाउने उद्देश्यले वार्षिक बीबीक्यू (BBQ) कार्यक्रम आयोजना गर्ने भएको छ ।

समाजका अनुसार कार्यक्रम अगस्ट ३०, २०२६ (आइतबार) चिबा प्रिफेक्चरस्थित साकुराचुसुमी पार्क (Sakuratsutsumi Park), इचिकावा स्टेशन नजिक बिहान १०:०० बजेदेखि साँझ ४:०० बजेसम्म सञ्चालन हुनेछ ।

कार्यक्रमबाट संकलन हुने रकम धादिङ जिल्ला अस्पताललाई आवश्यक स्वास्थ्य सामग्री उपलब्ध गराउन प्रयोग गरिने आयोजकले जनाएको छ । स्वास्थ्य क्षेत्रमा सहयोग पुर्‍याउने उद्देश्यसहित आयोजना गर्न लागिएको यस कार्यक्रमले जापानमा रहेका नेपाली समुदायलाई सामाजिक सेवामा जोड्ने विश्वास गरिएको छ ।

कार्यक्रममा सहभागी हुन पुरुषका लागि ३,५०० येन, महिलाका लागि ३,००० येन तथा विद्यार्थीका लागि २,५०० येन सहभागिता शुल्क निर्धारण गरिएको छ । १२ वर्षमुनिका बालबालिकालाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ ।

धादिङ समाज जापानका अनुसार कार्यक्रममा धादिङवासीसँगै जापानमा रहेका नेपालीहरूबीच आपसी भेटघाट, परिचय, मित्रता र सद्भाव अभिवृद्धि गर्ने अवसर मिल्नेछ । सहभागीहरूका लागि स्वादिष्ट बीबीक्यू भोजनसँगै विविध मनोरञ्जनात्मक कार्यक्रमसमेत आयोजना गरिने जनाइएको छ ।

समाजले जापानमा रहेका धादिङवासी तथा सम्पूर्ण नेपाली समुदायलाई कार्यक्रममा सहभागी भई सामाजिक अभियानलाई सफल बनाउन आग्रह गरेको छ ।

धादिङ समाज जापानले विगतदेखि शिक्षा, स्वास्थ्य, विपद् व्यवस्थापन तथा सामाजिक क्षेत्रमा विभिन्न सहयोगात्मक कार्यक्रम सञ्चालन गर्दै आएको छ । यस वर्षको वार्षिक बीबीक्यू कार्यक्रम पनि मनोरञ्जनसँगै सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर आयोजना गर्न लागिएको आयोजकको भनाइ छ ।