ल्याक्चे कुण्डमा साउन १ गते छैटौं पौडी प्रतियोगिता, पर्यटक आकर्षित गर्ने तयारी

Avatar photo
Dhadingpost
असार २६, २०८३

धादिङ । धादिङको खनियाबास गाउँपालिका–३, कुरीस्थित ऐतिहासिक तथा पर्यटकीय ल्याक्चे कुण्डमा आगामी साउन १ गते छैटौं संस्करणको पौडी प्रतियोगिता आयोजना हुने भएको छ ।

ल्याक्चे कुण्ड संरक्षण समाज, खनियाबास–३ कुरीको आयोजनामा हरेक वर्षझैँ यस वर्ष पनि कुण्डको संरक्षण, प्रचारप्रसार तथा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले प्रतियोगिता गर्न लागिएको हो ।

आयोजकका अनुसार प्रतियोगितामा महिला र पुरुषतर्फ विभिन्न उमेर समूहका प्रतिस्पर्धीहरू सहभागी हुनेछन् । प्रतियोगितामा स्थानीय युवायुवतीसँगै विभिन्न स्थानबाट आउने प्रतियोगी र आन्तरिक पर्यटकको समेत उल्लेख्य सहभागिता रहने अपेक्षा गरिएको छ ।

ऐतिहासिक र धार्मिक महत्व बोकेको ल्याक्चे कुण्ड

स्थानीयका अनुसार ल्याक्चे कुण्ड अत्यन्तै पुरानो तथा ऐतिहासिक जलाशय हो। स्थानीय जनविश्वासअनुसार यो कुण्ड संसारको सृष्टिसँगै अस्तित्वमा आएको मानिन्छ ।

किम्बदन्तीअनुसार विगतमा कुण्ड निकै गहिरो थियो। तर, माथिल्लो भागबाट ठूलो पहिरो खसेपछि यसको धेरै भाग पुरिएको विश्वास गरिन्छ ।

‘ल्याक्चे’ (वा लक्चे) नामको एउटा लहरामा फल्ने फलको नामबाट नै यस कुण्डको नाम ल्याक्चे कुण्ड रहन गएको हुन सक्ने स्थानीयहरूको भनाइ छ ।

हरेक वर्ष ठूलो एकादशीका अवसरमा यहाँ धार्मिक मेला लाग्ने गर्दछ। मेलामा बोन धर्मावलम्बी (स्थानीय भाषामा झाँक्री) हरू अर्थली, कुरी तथा झार्लाङ लगायतका क्षेत्रबाट पूजा–आराधना गर्न आउने परम्परा रहेको छ ।

कुण्ड वरपर विभिन्न प्रजातिका चराचुरुङ्गीहरू पानीमाथि खेलिरहेको दृश्यले पनि पर्यटकलाई आकर्षित गर्ने गरेको छ ।

जाडोमा तातो पानीको मुहान

स्थानीयका अनुसार कार्तिक महिनासम्म कुण्डमा पानी भरिभराउ रहने गर्दछ । त्यही पानीमा स्थानीय बासिन्दाले नुहाउने तथा दैनिक प्रयोग गर्ने गरेका छन् ।

कुण्डभन्दा केही माथि रहेको प्राकृतिक मुहानको पानी भने जाडोयाममा समेत तातो हुने विशेषता रहेको बताइन्छ । हिउँदमा यस क्षेत्रमा हिमपात पनि हुने गरेकामा पछिल्ला वर्षहरूमा जलवायु परिवर्तनका कारण हिमपातको मात्रा घट्दै गएको स्थानीयहरू बताउँछन् ।

पर्यटक आकर्षण बन्दै ल्याक्चे कुण्ड

पौडी प्रतियोगिताको अवसरमा प्रत्येक वर्ष स्थानीयवासीसँगै विभिन्न जिल्लाबाट आउने आन्तरिक पर्यटकको उल्लेख्य उपस्थिति रहने गरेको छ । प्रतियोगिताले प्राकृतिक सम्पदाको संरक्षणसँगै स्थानीय पर्यटन प्रवर्द्धनमा समेत टेवा पुर्‍याउँदै आएको आयोजकको विश्वास छ ।

कसरी पुग्ने?

ल्याक्चे कुण्ड पुग्न धादिङबेसीबाट जीपमार्फत करिब ४ घण्टा लाग्छ । त्यस्तै काठमाडौंबाट नुवाकोट–त्रिशूली हुँदै यात्रुवाहक बसमार्फत करिब ९ घण्टामा कुरी पुग्न सकिन्छ ।

प्राकृतिक सौन्दर्य, धार्मिक महत्व, चिसो मौसम र अनौठो प्राकृतिक विशेषताले भरिएको ल्याक्चे कुण्ड पछिल्लो समय धादिङको महत्वपूर्ण पर्यटकीय गन्तव्यका रूपमा परिचित बन्दै गएको छ । तस्वीर स्रोतः ल्याक्चेकुन्ड संरक्षण समाज