धादिङ । धादिङको खनियावास गाउँपालिका स्थित वडा नम्बर ३ (साबिक वडा नम्बर ४) मा रहेको कुरी गाउँ सांस्कृतिक र प्राकृतिक सम्पदाले भरिपूर्ण गाउँ हो । यहाँ करिब २५० घरधुरी र १५ सय जनसंख्या छ । सुन चौर’ अर्थात् कुरी गाउँमा रहेको ल्याक्चेकुन्ड प्रचार प्रसारका लागि कुरी ल्याक्चेकुन्ड संरक्षण समाजले विभिन्न कार्यक्रहरु गर्दै आईरहेका छ । जस अन्तरगत आज साउन १५ मित्रता दिवसको अवसरमा ल्याक्चेकुन्डमा पौडी प्रतियोगिता सम्पन्न भएको छ ।
चार समूह बनाएर भएको उक्त प्रतियोगितामा ४५ जनाले भाग लिएका थिए । विजयीहरुलाई नगद सहित आकर्षक पुरस्कार प्रदान गरिएको अध्यक्ष जलबहादुर तामाङले धादिङपोष्टलाई बताए । पुस्कार वितरण कार्यक्रमका प्रमुख अतिथि पालिकाका उप प्रमुख सेक्केमान तामाङले ल्याक्चेकुन्ड आन्तरिक तथा वाह्य पर्यटकका लागि महत्वपूर्ण रहेको बताएका थिए ।
प्रतियाेगितामा महिला तर्फ बुर्बा तामाङ प्रथम, माैषमी गुरुङ द्वितिय र कृपा तामाङ तृतीय भएका थिए । पुरुष १०-१५ वर्ष समुहमा अमन तामाङ प्रथम, विवेक तामाङ द्वितिय र विमन तामाङ तृतीय भएका थिए । यस्तै पुरुष १५-२० वर्ष उमेर समूह तर्फ सरुण तामाङ प्रथम, छिरिङ तामाङ द्वितिय लेकमान तामाङ तृतीय र पासङ तामाङ सान्त्वना भएका थिए । पुरुष २१-३० वर्ष उमेर समुहमा सुवास तामाङ प्रथम, रिदम तामाङ द्वितिय र मेवङ तामाङ तृतीय भएका थिए । त्यसैगरी पुरुष ४० वर्ष माथि उमेर समुहमा राजुबहादुर तामाङ प्रथम, विरबहादुर तामाङ द्वितिय र सुकबहादुर तामाङ तृतीय भएका थिए ।
ऐतिहासिक ल्याक्चेकुण्ड
लाक्चे (लक्चे) भन्ने एउटा फल हुन्छ, जो लहरामा फल्छ । यसलाई ‘लहराना’ पनि भनिन्छ । सोही फलको नामबाट कुण्डको नामकरण गरिएको अनुमान गरिएको छ । यस कुण्डमा ठुलो एकादशीमा मेला लाग्छ । मेलामा बोन धर्मावलम्बीहरू (स्थानीय भाषामा झाँक्री) अर्थली, कुरी एवम् झार्लाङदेखि आउने गर्छन् । स्थाीयहरुका अनुसार कुण्डमा विभिन्न किसिमका चराचुरुङ्गीहरू आइ पानी माथि खेलिरहेको देख्न सकिन्छ ।
इतिहास र कला साहित्यमा खोजमुलक लेख लेख्दै आएका राजु झल्लु प्रसादले आफ्नो लेखमा स्थानीयहरुको भनाई समेतलाई प्रथामिकतामा राखेर कुरी गाउँ सांस्कृतिक र प्राकृतिक सम्पदाले भरिपूर्ण गाउँ भएको लेख लेखेका छन् । उनले पृथ्वीको उत्पत्ति (सन्या दुनियाँ) को बेला (ङेमा कु, दवा कु आदिको समय) मा लापा गिलीले, तिप्लिङ् खोर्पाले, बरङ् लोर्चेले, जर्नङ नवरीले, किम्ताङ टुन्टेले, संगम छेवङले मानव बस्ती बसाउने विचार गरेछन् । सोही सिलसिलामा गिलिङ्चो (हिमाल) बाट दक्षिण पट्टि (हाल कुरी गाउँ रहेको स्थान) पाँचौ बराजुले सुनको कचौरा बनाएको लोकोक्ति छ । सोही सुनको चौरलाई ‘कुरी’ नामले पुकार्न थालेको कथन भेटिन्छ । यस चौरमा पलाउने दुबो रातको समयमा सुन जस्तो पहेँलो टल्कने गरेको उनले उल्लेख गरेका छन् । उनले स्थलगत अवलोकन पछि कुरी गाउँमा अवस्थित म्हन्दङ, ल्याक्चे कुण्ड तथा बिजुलुङ ढुङ्गा यस भेगका घुम्न योग्य ठाउँहरू भएको आफ्नो लेखमा उल्लेख गरेका छन् ।
कसरी पुग्ने कुण्ड
खनीयाबास कुरी स्थित ल्याक्चेकुन्ड पुग्न धादिङबेसीबाट जीपमा ४ घण्टा लाग्छ भने काठमाडौंबाट नुवाकोट त्रिशूली हुँदै यात्रुवहाक बसमा ९ घण्टा लाग्ने अध्यक्ष तामाङ बताउँछन् ।