
धादिङ । ठमेल पर्यटन विकास परिषद्को ३०औँ र ३१औँ साधारण सभा तथा आगामी निर्वाचनका लागि धादिङका दुई पर्यटन व्यवसायीले उम्मेदवारी घोषणा गरेका छन् ।
धादिङका पशुपति कंडेल महासचिव पदमा तथा प्रकाश थपलियाले सचिव पदमा उम्मेदवारी घोषणा गरेका हुन् । परिषद्को निर्वाचन असार २७ गते हुने तय भएको छ ।
महासचिव पदका उम्मेदवार कंडेलले राजुमान डंगोल नेतृत्वको समावेशी समूहबाट उम्मेदवारी दिएका छन् भने सचिव पदका उम्मेदवार थपलियाले प्रश्रयराज भण्डारी नेतृत्वको समावेशी समूहबाट उम्मेदवारी घोषणा गरेका छन् ।
ज्वालामुखी गाउँपालिका–७, धादिङका स्थायी बासिन्दा पशुपति कंडेल वि.सं. २०४४ साल असार १३ गते सामान्य आर्थिक अवस्था भएको परिवारमा जन्मिएका हुन् । व्यवस्थापन संकायमा स्नातकोत्तर अध्ययन पूरा गरेका कंडेल पर्यटन क्षेत्रसँगै सामाजिक अभियानमा पनि सक्रिय छन् ।
उनले वन उपभोक्ता समिति, खानेपानी उपभोक्ता समिति, विद्यार्थी संगठन, लायन्स क्लब तथा पर्यटनसँग सम्बन्धित राष्ट्रिय तथा जिल्ला स्तरका विभिन्न संघ–संस्थामा सचिवदेखि प्रमुख कार्यकारी (सीईओ) सम्मको जिम्मेवारी सम्हालिसकेका छन् । हाल उनी ठमेलस्थित काठमाडौं आगन्तुक होटल प्रा.लि. तथा अतिथि होटल एन्ड अपार्टमेन्ट प्रा.लि. का सञ्चालक हुन् । व्यवसायसँगै रक्तदान तथा रक्त संकलन अभियानमा समेत उनी लामो समयदेखि सक्रिय अभियन्ताका रूपमा परिचित छन् ।
यस्तै, सचिव पदका उम्मेदवार प्रकाश थपलिया धादिङको सिद्धलेक गाउँपालिकाका हुन् । वि.सं. २०५२ सालमा जन्मिएका थपलिया विगत १३ वर्षदेखि पर्यटन व्यवसायमा सक्रिय छन् ।
उनी २०७९ सालमा ठमेल पर्यटन विकास परिषद्को सदस्यमा निर्वाचित भएका थिए भने २०८१ सालमा परिषद्को कोषाध्यक्ष पदमा निर्विरोध निर्वाचित भएका थिए । परिषद्को कार्यसमितिमा रहेर उनले संस्थागत विकास र पर्यटन व्यवसायीको हितमा काम गर्दै आएका छन् ।
यसअघि सम्पन्न परिषद्को निर्वाचनमा धादिङका पर्यटन व्यवसायीहरूको उल्लेख्य उपस्थिति देखिएको थियो । तत्कालीन निर्वाचनमा धादिङका ध्रुव अधिकारी अध्यक्ष, सहदेव धमला उपाध्यक्ष, प्रकाश थपलिया कोषाध्यक्ष, कोपिला सिंखडा सदस्य तथा कुमार नेपाली सदस्य पदमा निर्वाचित भएका थिए ।
यसपटक पनि धादिङका दुई व्यवसायी प्रमुख पदमा उम्मेदवार बनेसँगै परिषद्को निर्वाचनमा धादिङको उपस्थिति थप बलियो हुने अपेक्षा गरिएको छ । पर्यटन व्यवसायीहरूले समेत उनीहरूको उम्मेदवारीलाई सकारात्मक रूपमा लिएका छन् ।
