
धादिङ । बेलायतमा रहेका नेपाली समुदायबीच आपसी सम्बन्ध, एकता र सांस्कृतिक पहिचानलाई थप सुदृढ बनाउने उद्देश्यका साथ धादिङ–नुवाकोट समाज यूकेले ‘समर भेटघाट २०२६’ आयोजना गर्ने भएको छ ।
समाजले आगामी जुलाई १८, २०२६ (शनिबार) बेलायतको Feltham College, Browells Lane, TW13 7EF मा कार्यक्रम आयोजना गर्न लागेको हो । विगतका वर्षहरूमा झैँ यस वर्ष पनि कार्यक्रमलाई अझ भव्य, सभ्य र स्मरणीय बनाइने आयोजकले जनाएको छ ।
समाजका निवर्तमान अध्यक्ष धन तामाङका अनुसार विदेशको व्यस्त जीवनशैलीबीच नेपाली समुदायलाई एउटै थलोमा भेला गराई आपसी सद्भाव, भाइचारा र सांस्कृतिक सम्बन्धलाई अझ मजबुत बनाउने उद्देश्यले हरेक वर्ष समर भेटघाट आयोजना हुँदै आएको छ ।
यस वर्ष धादिङ–नुवाकोट समाज यूके बेलायतको Charity House मा विधिवत् दर्ता भएपछि पहिलोपटक आयोजना हुन लागेको समर भेटघाटलाई विशेष महत्वका साथ मनाउन लागिएको उनले बताए ।
कार्यक्रममा द भ्वाइस अफ नेपाल सिजन–६ का विजेता प्रोसेस पाण्डे, चर्चित सर्जक तथा हास्यव्यङ्ग्य कलाकार शैलेन्द्र सिम्खडा, कलाकार तथा टेलिभिजन प्रस्तोता शोभा त्रिपाठी तथा गायक–संगीतकार कुमार योन्जनको विशेष प्रस्तुति रहनेछ ।
त्यसैगरी सांस्कृतिक कार्यक्रम, हास्यव्यङ्ग्य प्रस्तुति, खेलकुद, बालबालिकाका मनोरञ्जनात्मक गतिविधि, आकर्षक Lucky Draw र Raffle Draw तथा विभिन्न नेपाली परिकारसहितको विशेष भोजनको समेत व्यवस्था गरिएको आयोजकले जनाएको छ ।
धादिङ र नुवाकोटका बासिन्दामात्र नभई बेलायतमा रहेका सम्पूर्ण नेपाली समुदायलाई कार्यक्रममा परिवारसहित सहभागी भई आपसी सम्बन्धलाई अझ बलियो बनाउन आयोजकले आग्रह गरेको छ ।
कार्यक्रममा सहभागी हुन इच्छुकले आयोजकले सार्वजनिक गरेको पोस्टरमा रहेको QR/बारकोड स्क्यान गरी अग्रिम टिकट सुरक्षित गर्न सक्ने व्यवस्था मिलाइएको छ ।
आयोजकका अनुसार समर भेटघाट नेपाली भाषा, कला, संस्कृति र परम्पराको संरक्षणसँगै नयाँ पुस्तालाई आफ्नो मौलिक पहिचानसँग जोड्ने साझा मञ्चका रूपमा स्थापित हुँदै आएको छ ।
