
धादिङ । धादिङ नेपाली समाज अमेरिका (DNSA) को नवनिर्वाचित कार्यसमितिले पूर्वअध्यक्षसहित सात जनालाई सल्लाहकारमा मनोनित गरेको छ ।
दुई साताअघि सम्पन्न अधिवेशनबाट निर्वाचित अध्यक्ष हिमाल बी. अधिकारी (सागर) को अध्यक्षतामा बसेको कार्यसमितिले संस्थाको आगामी गतिविधिलाई प्रभावकारी बनाउन अनुभवी व्यक्तित्वहरूलाई सल्लाहकारमा मनोनयन गर्ने निर्णय गरेको हो ।
सल्लाहकारमा मनोनित हुनेहरूमा दिवाकर पाण्डे, टक रुवाली, बद्री खतिवडा, गणेश लम्साल, कुमार घले, टेकमान तामाङ तथा डा. नारायण धरेल रहेका छन् । उनीहरूले संस्थाको नीतिगत निर्णय, संगठन विस्तार तथा सामाजिक गतिविधिलाई थप प्रभावकारी बनाउन आवश्यक सुझाव र सहयोग प्रदान गर्ने अपेक्षा गरिएको छ ।
गत असार १ गते सम्पन्न धादिङ नेपाली समाज अमेरिकाको अधिवेशनबाट हिमाल बी. अधिकारी (सागर) को नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएको थियो। उक्त कार्यसमितिको कार्यकाल सन् २०२६ देखि २०२८ सम्म रहनेछ ।
धादिङ नेपाली समाज अमेरिकाले अमेरिकामा रहेका धादिङवासी नेपालीहरूबीच आपसी एकता, सहयोग र सामाजिक सम्बन्ध सुदृढ गर्नुका साथै विभिन्न सामाजिक, सांस्कृतिक तथा परोपकारी गतिविधि सञ्चालन गर्दै आएको छ । नयाँ कार्यसमितिले पनि ती गतिविधिलाई थप प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता जनाएको छ ।
