
धादिङ, जेठ २२ । १६ औँ केन्द्रिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा धादिङका खेलाडी सुमन घलेले स्वर्ण पदक जित्दै जिल्लाको गौरव बढाएका छन् ।
रुबीभ्याली गाउँपालिका निवासी घलेले तेक्वान्दोको ५१ केजी तौल समूहमा उत्कृष्ट प्रदर्शन गर्दै स्वर्ण पदक हात पार्न सफल भएका हुन्। उनी बागमती प्रदेशको प्रतिनिधित्व गर्दै प्रतियोगितामा सहभागी भएका थिए । जारी प्रतियोगितामा धादिङ जिल्लाबाट विभिन्न विधामा १० जना खेलाडी बागमती प्रदेशको टोलीबाट सहभागी रहेका छन् ।
जिल्ला खेलकुद विकास समिति धादिङका अध्यक्ष प्रतापसिंह तामाङका अनुसार धादिङबाट केन्द्रिय प्रतियोगितामा सहभागी हुने खेलाडीहरूमा उत्सव पुरी (उसु), सिर्जना श्रेष्ठ (ज्याभ्लिङ थ्रो), रितिक बस्याल (ज्याभ्लिङ थ्रो), सुमन घले (तेक्वान्दो ४८ केजी), नविन गुरुङ (कबड्डी), रविन श्रेष्ठ (कबड्डी), सम्झना श्रेष्ठ (कबड्डी), एलिसा अधिकारी (कबड्डी), झरन विक (भलिबल) र दिपेश सुनार (भलिबल) रहेका छन् ।
यसअघि एक साता अघि सम्पन्न बागमती प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा धादिङले उत्कृष्ट प्रदर्शन गर्दै ६ स्वर्ण, ३ रजत र ११ कास्य पदक जित्दै तृतीय स्थान हासिल गरेको थियो ।
गत वर्षको केन्द्रिय राष्ट्रपति रनिङ शिल्डमा पनि धादिङका ९ जना खेलाडीले स्थान बनाउन सफल भएका थिए । उक्त प्रतियोगितामा विवश तामाङले स्वर्ण पदक जितेका थिए भने सिर्जना श्रेष्ठ ‘पिङ्की’ ले ज्याभलिङ थ्रोतर्फ कास्य पदक हात पारेकी थिइन् ।
जिल्लाबाट निरन्तर देखिँदै आएको खेलकुदको यो सफलताले धादिङको खेल क्षेत्रलाई थप उत्साहित बनाएको छ ।
