
धादिङ । जिल्लाकै पहिलो नमुना विद्यालय तथा सबैभन्दा धेरै विद्यार्थी अध्ययन गर्ने सामुदायिक विद्यालय नीलकण्ठ बालमन्दिर माध्यमिक विद्यालयले आज आफ्नो ५२ औँ वार्षिकोत्सव मनाउँदैछ । कटुसको छाप्रोबाट सुरु भएको शैक्षिक यात्राले पाँच दशक पार गर्दै अन्तर्राष्ट्रिय गुणस्तरको आईएसओ प्रमाणिकरण प्राप्त संस्थासम्मको फड्को मारेको छ ।
वि.सं. २०३१ सालमा सुनौलोबजारबाट सदरमुकाम धादिङबेसी सारिएसँगै नयाँ बस्ती विकास हुन थालेको थियो । त्यसै क्रममा स्थानीय शिक्षासेवी तथा समाजसेवीहरू स्व. दण्डपाणि अधिकारी, टि.एन. गोपीकृष्ण अधिकारी, स्व. जगन्नाथ कोइराला, गोपीनाथ रिजाल, सोमनाथ ढुङ्गाना, माणिकलाल श्रेष्ठ, स्व. झंकनारायण श्रेष्ठ, विष्णुकुमार श्रेष्ठ लगायतले शितलबजारस्थित घाँटीमा कटुसको छाप्रो निर्माण गरी विद्यालय सञ्चालनको थालनी गरेका थिए ।
तत्कालीन गाउँ पञ्चायतको नाम नीलकण्ठ रहेकाले नवस्थापित विद्यालयको नाम नीलकण्ठ निम्न माध्यमिक विद्यालय राखिएको थियो। प्रारम्भिक चरणमा कक्षा ७ सम्म पठनपाठन सञ्चालन गरिएको थियो । संस्थापकहरूमध्ये गोपीकृष्ण अधिकारी, माणिकलाल श्रेष्ठ लगायतले स्वयंसेवी रूपमा अध्यापनसमेत गरेका थिए ।
विद्यालयलाई छाप्रोबाट आफ्नै स्थायी स्थानमा सार्ने अभियानमा शिक्षासेवीहरूसँगै तत्कालीन प्रमुख जिल्ला अधिकारी बाबुराम पौडेल र बासुदेव लम्सालको महत्वपूर्ण भूमिका रहेको थियो । विद्यालयका लागि उपयुक्त जग्गा व्यवस्थापन गर्न तत्कालीन प्रशासक शम्भुकुमार श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी बाबुराम पौडेल तथा प्रधानपञ्च टिकाबहादुर भण्डारीको विशेष योगदान रहेको विद्यालयको इतिहासमा उल्लेख छ ।
हाल विद्यालयसँग सरकारी अधिग्रहण क्षेत्रमा १६ रोपनी जग्गा रहेको छ । साथै भवनाथ अधिकारीले दान गरेको ४ आना जग्गा अधिकारीडाँडामा तथा पूर्व प्रधानाध्यापक बाबुराम अधिकारीले दान गरेको ५ रोपनी जग्गा तारुखर्कमा विद्यालयको स्वामित्वमा रहेको छ ।
समयक्रमसँगै विद्यालयले आफ्नो शैक्षिक दायरा विस्तार गर्दै विभिन्न विद्यालयलाई एकीकरण गरेको छ । २०४५ सालमा स्थापित खानिगाउँ आधारभूत विद्यालय, २०४८ सालमा स्थापित ईजारा आधारभूत विद्यालय तथा नगरपालिकाको दोस्रो ठूलो विद्यालयका रूपमा परिचित २०३४ सालमा स्थापित बालमन्दिर माध्यमिक विद्यालय समायोजन भएपछि विद्यालयको नाम नीलकण्ठ बालमन्दिर माध्यमिक विद्यालय कायम भएको हो ।
हाल विद्यालयमा बालकक्षादेखि कक्षा १२ सम्म अध्ययन–अध्यापन हुँदै आएको छ । कक्षा १ देखि ५ सम्मको पठनपाठन बालमन्दिर सेक्टरमा तथा बालकक्षा र कक्षा ६ देखि १२ सम्मको पठनपाठन नीलकण्ठ सेक्टरमा सञ्चालन भइरहेको छ । विद्यालयका प्रधानाध्यापक विष्णु प्रसाद रिजाल तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दीपक कोइरालाको नेतृत्वमा विद्यालय अघि बढिरहेको छ ।
विद्यालयले पछिल्लो समय अन्तर्राष्ट्रिय स्तरको महत्वपूर्ण उपलब्धिसमेत हासिल गरेको छ । अन्तर्राष्ट्रिय गुणस्तर व्यवस्थापन प्रणाली आईएसओ २१००१ (ISO 21001) प्रमाणिकरणका लागि एभरेष्ट इन्टरनेशनल म्यानेजमेन्ट कन्सल्टेन्सी एण्ड ट्रेनिङ एजेन्सीसँग सम्झौता गरी आवश्यक प्रक्रिया पूरा गरेपछि विद्यालयले अन्तर्राष्ट्रिय गुणस्तरको प्रमाणपत्र प्राप्त गरेको हो । यससँगै विद्यालयले शैक्षिक व्यवस्थापन, सेवा प्रवाह र गुणस्तर सुधारमा अन्तर्राष्ट्रिय मापदण्ड पूरा गरेको संस्थाको रूपमा आफ्नो पहिचान स्थापित गरेको छ।
नीलकण्ठ बालमन्दिर माध्यमिक विद्यालय हाल धादिङ जिल्लाकै सबैभन्दा बढी विद्यार्थी अध्ययन गर्ने सामुदायिक विद्यालयका रूपमा परिचित छ। शैक्षिक गुणस्तर, भौतिक पूर्वाधार, व्यवस्थापन क्षमता तथा नवीन अभ्यासका आधारमा विद्यालयले जिल्लाकै पहिलो नमुना विद्यालय बन्ने गौरवसमेत प्राप्त गरेको छ ।
२०३१ साल जेठ १९ गते कटुसको छाप्रोबाट सुरु भएको शैक्षिक अभियान आज ५२ वर्ष पूरा गर्दै नयाँ उचाइमा पुगेको छ। स्थानीय समुदाय, अभिभावक, शिक्षक, विद्यार्थी तथा शिक्षाप्रेमीहरूको निरन्तर साथ र सहयोगले नीलकण्ठ बालमन्दिर माध्यमिक विद्यालयलाई धादिङको शैक्षिक इतिहासमा एउटा विशिष्ट र गौरवशाली संस्थाको रूपमा स्थापित गरेको छ । विद्यालयले आफ्नो ५२ औँ वार्षिकोत्सव मनाइरहँदा विगतको संघर्ष, योगदान र उपलब्धिको यात्रालाई पनि स्मरण गरिरहेको छ ।
तस्वीर स्रोतः विद्यालय
