
धादिङ । १६ औं बागमती प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा धादिङ जिल्लाको उत्कृष्ट प्रदर्शन जारी रहेको छ । जिल्ला खेलकुद विकास समिति धादिङका अध्यक्ष प्रतापसिंह तामाङ का अनुसार अधिकांश खेलहरू अझै जारी रहेका छन् भने सम्पन्न खेलहरूमा धादिङले हालसम्म ३ स्वर्ण, १ रजत र ६ कास्य पदक जित्न सफल भएको छ ।
अध्यक्ष तामाङका अनुसार छात्रा कबड्डी टोली फाइनलमा प्रवेश गरिसकेको छ भने छात्र भलिबल र छात्र कबड्डी टोली सेमिफाइनलमा पुगेका छन् ।
हालसम्म धादिङका लागि उत्सव पुरी (उसु), सिर्जना श्रेष्ठ (ज्याभ्लिङ थ्रो) र रितिक बस्याल (ज्याभ्लिङ थ्रो) ले स्वर्ण पदक जितेका छन् । त्यसैगरी अन्जली चेपाङले ज्याभ्लिङ थ्रोतर्फ रजत पदक हात पारेकी छन् ।
त्यस्तै दिलबहादुर तामाङ (कराते, ४२ केजी), डोल्मा तामाङ (उसु सान्सो), सम्राट थापा (उसु सान्सो), कविता तामाङ (तेक्वान्दो, ५२ केजी), सुमि बिश्कर्मा (तेक्वान्दो, ४६ केजी) र पाबल तामाङ (तेक्वान्दो, ५५ केजी) ले कास्य पदक जित्न सफल भएका छन् ।
प्रतियोगिता भोलिसम्म सञ्चालन हुने जनाइएको छ ।
गत वर्ष धादिङबाट छनोट भएका ९ जना खेलाडीले बागमती प्रदेश पार गर्दै केन्द्रीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा स्थान बनाउन सफल भएका थिए । उक्त प्रतियोगितामा विवश तामाङले स्वर्ण पदक जितेका थिए भने सिर्जना श्रेष्ठ ‘पिङ्की’ ले ज्याभ्लिङ थ्रोतर्फ कास्य पदक हात पारेकी थिइन् ।
त्यस्तै, गत वर्ष सम्पन्न बागमती प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा धादिङले २ स्वर्णसहित २० पदक जित्दै उल्लेखनीय सफलता हासिल गरेको थियो । सिर्जना श्रेष्ठले ज्याभ्लिङ थ्रोमा स्वर्ण पदक जितेकी थिइन् भने काठमाडौंलाई पराजित गर्दै धादिङको छात्रा कबड्डी टोलीले स्वर्ण पदक जित्न सफल भएको थियो ।
धादिङको छात्र कबड्डी टोली भने फाइनलमा भक्तपुरसँग ५ अंकको अन्तरले पराजित हुँदै उपविजेतामा सीमित बनेको थियो । त्यसैगरी छात्र भलिबल टोलीले तृतीय स्थान हासिल गरेको थियो ।
यसअघि २०८० सालमा धादिङले २ स्वर्णसहित १४ पदक जित्दै बागमती प्रदेशमा छैटौं स्थान हासिल गरेको थियो ।
