
धादिङ । धादिङ जिल्ला खेलकुद विकास समिति ले जिल्लास्तरीय खेलाडी छनोटका लागि खेलाडी दर्ता फाराम संकलनको म्याद २०८३ बैशाख २२ गतेसम्म मात्र रहेको जनाएको छ ।
समितिले चैत ११ गते सूचना प्रकाशन गर्दै बैशाख १५ गतेसम्म इच्छुक खेलाडीलाई आवेदन दिन आह्वान गरेको थियो । तर, बैशाख १६ गते अर्को सूचना जारी गर्दै दर्ता म्याद थप गरी बैशाख २२ गतेसम्म पुर्याइएको हो ।
समितिका अध्यक्ष प्रतापसिंह तामाङ का अनुसार इच्छुक खेलाडीले नाम दर्ता गराएपछि सम्बन्धित खेलमा टिम संख्या भन्दा बढी आवेदन परेमा छनोट प्रतियोगिता आयोजना गरिनेछ । छनोटबाट उत्कृष्ट खेलाडी छनोट गरी जिल्लाको टिम तयार पारेर प्रदेशस्तरीय प्रतियोगितामा सहभागी गराइने उनले जानकारी दिए ।
बागमती प्रदेश ले जेष्ठ २४ गतेदेखि ३० गतेसम्म आईटीएफ तेक्वान्दो, उसु, एथलेटिक्स, टेबल टेनिस, ब्याडमिन्टन, कराते, बक्सिङ, तेक्वान्दो, बुद्धिचाल, फुटबल, क्रिकेट, भलिबल, जुडो लगायतका खेल समेटेर प्रदेशस्तरीय प्रतियोगिता आयोजना गर्ने कार्यक्रम रहेको छ ।
