
धादिङ । धादिङको नीलकण्ठ नगरपालिका भित्र रहेका सबै विद्यालयमा आजदेखि नियमित कक्षा सञ्चालन हुने भएको छ । लामो समयसम्म विद्यालय बन्द हुँदा बालबालिकाको पठनपाठन प्रभावित भएको भन्दै विद्यालयहरूले आजबाट औपचारिक रूपमा पढाइ सुरु गरेका हुन् ।
सङ्घीय सरकारको निर्णयअनुसार वैशाख १५ गतेदेखि भर्ना अभियान सुरु गरी २१ गतेबाट पठनपाठन सञ्चालन गर्न शिक्षा तथा मानव स्रोत विकास केन्द्र ले सबै स्थानीय तहलाई निर्देशन दिएको थियो । तर हप्तामा दुई दिन बिदा तथा नयाँ शैक्षिक सत्र सुरु भए पनि विद्यालय नखुल्दा अध्ययनमा असर परेको निष्कर्ष निकाल्दै नीलकण्ठका विद्यालयहरूले कक्षा सञ्चालन गर्ने निर्णय गरेका हुन् ।
विद्यालयहरूले आन्तरिक रूपमा भर्ना प्रक्रिया तथा पाठ्यपुस्तक वितरण कार्य समेत पूरा गरिसकेका छन् । अब नियमित कक्षासँगै शैक्षिक गतिविधि अघि बढाइने जनाइएको छ । नीलकण्ठमा ७६ वटा विद्यालयहरु रहेका छन् ।
