धादिङका झल्लु प्रसादको कविता प्रथम

Avatar photo
Dhadingpost
बैशाख १०, २०८३

काठमाडौं । गैर-आवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् हङकङद्वारा आयोजित विश्वव्यापी ‘इको कविता प्रतियोगिता’मा धादिङका राजेन्द्र भट्ट (राजु झल्लु प्रसाद) प्रथम भएका छन् ।

Non-Resident Nepali Association अन्तर्गत सम्पन्न उक्त प्रतियोगिताको नतिजा Earth Day को अवसर पारेर सार्वजनिक गरिएको हो ।

प्रतियोगितामा भट्टको ‘रुखको रिटार्यमेन्ट पत्र’ शीर्षकको कविताले प्रथम स्थान हासिल गरेको हो। त्यसैगरी, निर्जला लम्सालको ‘मैलो क्यानभासको निस्सासिँदो हस्ताक्षर’ द्वितीय तथा अन्चु सुवेदीको ‘आकाशमाथिको धुवाँको हस्ताक्षर’ तृतीय भएका छन् ।

पुरस्कारअन्तर्गत प्रथम हुनेले ३० हजार रुपैयाँ, द्वितीयले २० हजार रुपैयाँ र तृतीयले १० हजार रुपैयाँ प्राप्त गरेका छन् ।

यसैगरी, धादिङका वरिष्ठ साहित्यकार डा. नविनबन्धु पहाडीको कविता पनि उत्कृष्टमध्ये परेको छ । प्रतियोगितामा उत्कृष्ट ठहरिएका अन्य २० जना स्रष्टालाई जनही २ हजार रुपैयाँसहित शान्त्वना पुरस्कार प्रदान गरिएको आयोजकले जनाएको छ ।