
धादिङ । धादिङ जिल्लामा उसु खेलको विकासका लागि नयाँ कदम चालिएको छ । जङ्ग बहादुर तामाङ लाई धादिङका लागि उसु प्रशिक्षकमा नियुक्त गरिएको छ ।
प्रदेश खेलकुद विकास परिषद्ले उसु खेल प्रवर्द्धन गर्ने उद्देश्यसहित तामाङलाई स्वयंसेवक प्रशिक्षकका रूपमा जिम्मेवारी दिएको हो । जिल्ला खेलकुद विकास समिति धादिङका कार्यालय प्रमुख रमेशमान तुलाधरका अनुसार प्रशिक्षक तामाङले आजैदेखि धादिङमा औपचारिक रूपमा हाजिरी गरी काम सुरु गरेका छन् । उनलाई प्रारम्भिक रूपमा ३ महिनाका लागि करार नियुक्ति दिइएको छ ।
थाक्रे गाउँपालिका निवासी तामाङ लामो समयदेखि उसु खेलमा सक्रिय रहँदै आएका अनुभवी प्रशिक्षक हुन् । उनी २०४८ सालदेखि उसुमा आवद्ध छन् भने २०५६ सालमा तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीको कार्यकालमा समेत अल्पकालीन करारमा प्रशिक्षकको भूमिका निर्वाह गरिसकेका छन् ।
सरकारी स्थायी नियुक्ति नहुँदा पनि तामाङले आफ्नो क्षेत्र थाक्रेमा निरन्तर रूपमा उसु प्रशिक्षण दिँदै आएका छन् । उनको प्रशिक्षणबाट तयार भएका ५ जना खेलाडीहरूले अन्तर्राष्ट्रिय स्तरमा उपाधि जितिसकेका छन् भने अन्य धेरै खेलाडीहरूले राष्ट्रिय प्रतियोगिताहरूमा सफलता हासिल गरेका छन् ।
उनको नियुक्तिसँगै धादिङमा उसु खेलको स्तर अझ उकासिने अपेक्षा गरिएको छ । स्थानीय स्तरमा खेलाडी उत्पादन र प्रतिस्पर्धात्मक क्षमतामा वृद्धि हुने विश्वास खेलकुदकर्मीहरूले व्यक्त गरेका छन् ।

















