
धादिङ । बेनीघाट रोराङ गाउँपालिका–९ मझिमटारमा भोलि असोज २५ गतेदेखि तेस्रो अञ्जन स्मृति कप खुला नकआउट फुटबल प्रतियोगिता सुरु हुँदैछ।
अञ्जन स्मृति प्रतिष्ठान बेनीघाट रोराङको आयोजनामा मझिमटार खेलमैदानमा हुने उक्त प्रतियोगिताको टिम दर्ता आज दिउँसो ३ बजेसम्म खुला रहने आयोजकले जनाएका छन्।
पुरस्कार राशी र सम्मान
प्रतियोगिताको विजेता टोलीले नगद १ लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ।
उपविजेता टोलीले ५० हजार रुपैयाँ, सेमिफाइनलमा रोकिएका दुई टोलीले जनही १० हजार रुपैयाँ, अनुशासित टिमलाई ५ हजार, र उत्कृष्ट खेलाडी, गोलरक्षक तथा गोलकर्तालाई जनही ५ हजार रुपैयाँ पुरस्कारका रूपमा प्रदान गरिनेछ।
अञ्जन सिलवालको सम्झनामा आयोजना
३४ वर्षीय स्व. अञ्जन सिलवालको स्मृतिमा हरेक वर्ष आयोजना गरिने यो प्रतियोगिता स्थानीय युवामा खेलप्रतिको रुचि बढाउन र आपसी सद्भाव सुदृढ गर्न उद्देश्य राखिएको छ।
सिलवाल तत्कालीन माओवादी केन्द्रका बेनीघाट–९ का सचिव समेत थिए। चुम्लिङमा मोटरसाइकल दुर्घटनामा निधन भएपछि परिवार र साथीहरूले उनको नाममा “अञ्जन स्मृति प्रतिष्ठान” स्थापना गरेका हुन्।
विगतका संस्करणहरू
पहिलो संस्करणमा भेटेरान समूहले उपाधि जितेको थियो। सो खेलमा चितवनका खेलाडी विक्कीले गजुरी समाजविरुद्ध पाँच गोल गर्दै टोलीलाई विजयी बनाएका थिए। उनले प्रतिगोल नगद पुरस्कारसहित जम्मा ५८ हजार ५०० रुपैयाँ प्राप्त गरेका थिए, जुन प्रतियोगिताको मुख्य पुरस्कारभन्दा बढी थियो।
दोस्रो संस्करणमा भने भलिबल प्रतियोगिता आयोजना गरिएको थियो, जसमा नेपाली भलिबलका परिचित खेलाडी नविन महतो ‘पुतली’ सहभागी भएको हाम्रो मुग्लिन, इच्छाकामना टिम विजयी बनेको थियो।













